चितवनः जिल्ला प्रशासन कार्यालय चितवनले सेवाग्राहीका लागि ‘टाईम कार्ड’ लागू गरेको छ । सेवा लिन आएका सेवाग्राहीले लामो समय कुर्नु नपरोस भनेर टाईम कार्ड लागु गरिएको हो । ‘टाईम कार्ड’ लागू भएपछि सेवाग्राहीलाई तोकिएको समयसीमा भित्र सेवा नदिने जिम्मेवार कर्मचारीबाट सेवाग्राहीलाई क्षतीपूर्ती भरण गराईने छ ।

कर्मचारीहरुलाई सेवाप्रति जिम्मेवार बनाउन ‘टाईम कार्ड’ लागू गरिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्का अनुसार कार्यालयबाट दिईने सेवाहरुमा सेवाग्राहीलाई ‘टाईम कार्ड’ को व्यवस्था गरिएको हो । उहाँका अनुसार राष्ट्रिय परिचय पत्र, राहदानी, नागरिकता र प्रतिलिपि शाखा, मुद्दा शाखा लगायतका शाखामा ‘टाईम कार्ड’ लागू गरिएको छ ।

सेवाग्राहीलाई सहज बनाउनका लागि कार्यालय परिसरमा हेल्प डेक्स राखिएको छ । जहाँबाट आवश्यक कागजपत्र पूरा भए नभएको हेरेर सेवाग्राहीलाई सेवाका लागि पठाईने गरिन्छ । कागजपत्र पूरा भएका सेवाग्राहीलाई मात्र ‘टाईम कार्ड’ दिइने छ ।

राष्ट्रिय परिचयपत्रका लागि प्रतिघण्टा ३० जना, राहदानीमा प्रतिघण्टा २० जना र नागरिकता एवं प्रतिलिपी सेवाग्राहीको कागज पत्रका आधारमा एक घण्टाभित्र उपलव्ध गराउने गरी ‘टाईम कार्ड’ दिने गरिएको छ । सेवा लिन आएका सेवाग्राहीहरुले टाईम कार्ड लागु भए पछि तोकिएको समयमा सेवा पाएका छन् ।

अहिले कार्यालयबाट दैनिक रुपमा राष्ट्रिय परिचय पत्र १९० जना, नागरिकता १५० जना, राहदानी १३० जनाले सेवा लिने गरेका छन् । नागरिकता नयाँ बनाउने ८० जना र प्रतिलिपी लिने ७० जना हुने गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !