चितवनः पश्चिम चितवनको जगतपुरमा १६० बिगाहा जग्गा भूमिगत सिचाई प्रणालीको उद्घाटन गरिएको छ । चितवन भूमिगत संयोजनात्मक जल सिचाई आयोजनाले निर्माण गरेको चार वटा सिचाई प्रणालीको महानगर प्रमुख रेनु दाहालले उद्घाटन गर्नु भएको हो ।
आयोजनाको रु ३ करोड ४७ लाख ३१ हजारको लागतमा निर्माण गरिएका ती सिचाई प्रणालीको उद्घाटन गर्दै महानगर प्रमुख दाहालले कृषिलाई आधुनिकिकरण गर्ने क्रममा सिचाई प्रणाली आबश्यक रहेको बताउनुभयो । भरतपुर महानगरले अहिले सम्म ५६२ श्यालो ट्युवेल निर्माण गरिदिएको उहाँले बताउनुभयो । यस वर्ष पनि महानगरबाट १ सय वटा श्यालो ट्युवेल बितरणा गर्ने उहाँले जानकारी दिनुभयो । सिचाईको अभावमा स्थानीयले खेप्नु परेको समस्या समाधानका लागि कोशेढुङ्गा साबित भएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “हिउँदमा समेत सिचाईको व्यवस्था हुने गरि गरिएका यी आयोजनाहरुले जनताको समस्या समाधान गर्ने बिश्वास लिएको छु ।”
कृषिको प्रचुर सम्भावना भएको यस ठाउँमा सिचाईका कारणा समस्या भए पनि सिचाईको अभाव भएको उहाँले बताउनुभयो । दिर्घकालिन हिसावले नारायणी सिचाई आयोजना अघि वढाइएको उहाँले जानकारी दिनुभयो । कृषि क्षेत्रको बिकासका लागि महानगर लागि परेको उहाँले बताउनुभयो ।
चितवन भूमिगत संयोजनात्मक जल सिचाई आयोजनाका प्रमुख देव कुमार स्याङ्बोले हाल सम्म ४ हजार बिगाहा (२ हजार ५ सय हेक्टर) क्षेत्रफलमा सिचाई पुर्याएको जानकारी दिनुभयो । बि. सं. २०७७ सालमा स्थापना भएको सो कार्यलयले जिल्लाको १० हजार ५ सय हेक्टर क्षेत्रफलमा बाह्रै महिना दिगो भरपर्दो सुलभ सिचाई पु¥याउने लक्ष्य लिएको छ । यसका लागि रु ४ अर्ब ६४ करोडको आयोजना रहेको उहाँले जानकारी दिनुभयो । हाल सम्म कार्यालयले ६० वटा ठूला डिप ट्युववेल सिचाई प्रणाली र ३२५ वटा श्यालो ट्युबवेल निर्माण कार्य सम्पन्न गरेको उहाँले बताउनुभयो ।
कार्यालयले चितवन र मकवानपुरका बिभिन्न पालिकामा काम गर्दै आएको छ । चितवनको भरतपुर महानगरपालिका, रत्ननगर, कालिका, राप्ती र खैरहनी नगरपालिका कार्यक्षेत्र हो भने बार्षिक कार्यक्रमले तोके अनुसार चितवनको माडी र मकवानपुर समेत हेर्दै आएको उहाँले जानकारी दिनुभयो ।






