चितवनः भरतपुर अस्पतालको पुर्नउत्थान कोठामा राखिएको शवको हातमा रहेको ब्रासलेट चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मृतकको हातबाट सुनको ब्रासलेट चोरी गरेको अभियोगमा भरतपुर अस्पतालका गार्डलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा खोटाङ ऐसेलुखर्क गाउँपालिका वडा नम्बर ६ घर भई हाल चितवन भरतपुर महानगरपालिका वडा नम्बर ७ बस्ने २७ वर्षीय कृष्ण राई रहेका छन् । उनले सवारी दुर्घटनामा मृत्यु भएका व्यक्तिको हातबाट ब्रासलेट चोरी गरेर भागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।
नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत पर्ने भरतपुर–२९ केराबारीमा पुस १७ गते ना ५६ ख ३३१२ नम्बरको ट्रकले बागमति प्रदेश ०३–००३ प ६५७४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक तनहुँ भानु नगरपालिका वडा नम्बर २ घर भई भरतपुर नम्बर १ बस्ने बर्ष ३७ को सञ्जिव बहादुर रायमाझीको मृत्यु भएको थियो । रायमाझीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मृतकको शव अस्पतालकै आकस्मिक कक्ष नजिक रहेको पुनरुत्थान कोठामा राखिएकोमा अस्पतालका गार्ड राईले मृतकले हातमा लगाएको सुनको ब्रासलेट चोरी गरेका थिए । चोरीको घटनाको अनुसन्धानका क्रममा राईलाई पक्राउ गरी चितवन जिल्ला अदालतबाट समय थपको अनुमति लिई थप अनुसन्धान गर्ने काम भइरहेको पण्डितले जानकारी दिनुभयो ।






