चितवनः कालिका नगरपालिकाले चेपाङ् बालबालिकाहरुका लागि पोषण सम्बन्धि कार्यक्रम सञ्चालनको तयारी गरेको छ । बागमती प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालय र नगरपालिकाको सहकार्यमा कार्यक्रमको तयारी गरेको हो ।
प्रदेश सरकारको रु १६ लाख र पालिकाको रु ४ लाखको बजेटमा कार्यक्रम गर्न लागिएको हो । अहिले पालिकाले स्थलगत तथ्याङ्क संकलनको काम गरिरहेको पालिकाका प्रमुख बिनोद रेग्मीले जानकारी दिनुभयो । रेग्मीका अनुसार यस कार्यक्रम अन्तर्गत एक हजार सुनौला दिनमा गर्भबती आमा र बच्चालाई लक्षित गरि कार्यक्रम अघि वढाउन लागिएको हो । आमा र बच्चा दुबैलाई पोषण, स्वास्थ्य र सरसफाईमा ध्यान दिईने छ । प्रमुख रेग्मीले भन्नुभयो “यो वजेट वढाएर रु १ करोड सम्म पु¥याउनु पर्छ ।” यस कार्यक्रमलाई आयआर्जनसंग समेत जोड्नु पर्ने उहाँको भनाई छ ।
चेपाङ् बालबालिकामा अहिले स्वास्थ्यमा बिभिन्न समस्या देखिन थाले संगै यो कार्यक्रम ल्याईएको उहाँले जानकारी दिनुभयो । बालबालिकामा कुपोषणको समस्या समस्या देखीने गरेको छ । बच्चाहरु होचा, पुड्का हुने गरेका छन् । चेपाङ् समुदायमा धेरै कमको मात्र आफ्नो उत्पादनले बर्ष दिन पुग्छ । अधिकांशको उत्पादनले ६ महिना पु¥याउन मुस्किल हुन्छ । मेलापात संगै वनका कन्दमुल गिठ्ठा भ्याकुरले जीवन गुजार्नुपर्ने बाध्यता रहेको रेग्मी बताउनुहुन्छ ।






