चितवनः जिल्लामा पालिएका २ हजार ७४२ बंगुर अफ्रिकन स्वाइन फिवरका कारण मरेका छन् । जसबाट रु ५ करोड ८९ लाख ८५ हजारको क्षती भएको छ । यहाँका ९ वटा कृषि फर्ममा रहेका बंगुर मरेका हुन । सोही रोगले १८७ वटा बिरामी परेका छन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका सूचना अधिकारी डा. प्रभात न्यौपानेका अनुसार मर्नेमा एक हजार ८११ बयस्क र ९३१ पाठापाठी रहेका छन् । यस्तै बिरामी परेकाहरु मध्ये १२८ वयस्क र ५९ पाठापाठी रहेको कार्यालयले जनाएको छ ।
अफ्रिकन स्वाइन फिवर घरपालुवा सुँगुर, बँदेल, बंगुर प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्यु दर भएको अति खतरनाक सरुवा रोग हो । यो रोग नेपालमा पहिलो पटक वि. सं. २०७९ साल जेठ २ गते पुष्टि भएको हो । रोग संक्रमित सुँगुर बंगुर बीच प्रत्यक्ष सम्पर्कबाट, रोगी बंगुरको ¥याल, मलमुत्र, रगत, मासु र लसपस भएको दानापानीबाट, बिरामी बंगुरको ओसारपसार वा किनबेच गर्दा, संक्रमण खोरमा काम गर्ने कामदार र संक्रमित खोरमा गएको मानिसले प्रयोग गरेको लुगाकपडा, जुत्ता चप्पल आदि प्रयोग गर्दा सर्न सक्ने न्यौपानेले जानकारी दिनुभयो ।
यो रोग लागेका बंगुरहरु एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निला डामहरु देखा पर्ने, कानका टुप्पाहरुमा रगत जमेका धब्बाहरु देखिने, नाकबाट फिंज निकाल्ने, रोग संक्रमित सुँगुर बंगुरलाई उच्च ज्वरो ( १०४ देखि १०७ डिग्री फरेनहाइट ) आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, झोक्राउने र दानापानी खान छोड्ने, बान्ता गर्ने, छटपटाउने, चाल धरमराउने, बच्चा तुहिने जस्ता लक्षणहरु देखा पर्ने केन्द्रले जनाएको छ ।
यस रोगबाट बच्न बंगुरपालन गर्दा खोरमा थुनेर पाल्ने, बंगुरको खोरमा अनावश्यक मानिसको आवत जावत रोक्ने, बंगुर फार्ममा जैविक सुरक्षा विधि अवलम्वन गर्ने जस्ता उपायहरु अपनाउनु पर्ने कार्यालयले जनाएको छ । बाहिरको बथानबाट नयाँ बंगुर ल्याएमा सिधैं फार्ममा रहेका बंगुरसंग नमिसाई २१ दिन क्वारेन्टाइनमा राख्ने र रोग नदेखिएपछि मात्र बथानमा मिसाउने, बंगुरको खोर फार्म र फार्म वरिपरि नियमित सरसफाई गरी चुना, फिनेल, फर्मालिन, ब्लिचिङ्ग पाउडर आदिले निः संक्रमण गर्ने, रोग लागेका बंगुरलाई बथानबाट छुट्याएर अलग राख्ने जस्ता कार्य गर्दा क्षती कम हुने न्यौपानेको भनाई छ ।





