चितवनः कालिका नगरपालिकाले नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्यको रु १० लाखको दुर्घटना बिमा गर्ने भएको छ । नगरपालिका र महासंघ बिच दुर्घटना बिमा सम्बन्धि आज एक कार्यक्रमका बिच सम्झौता गरिएको छ ।
नगरपालिकाका प्रमुख बिनोद रेग्मी र महासंघका अध्यक्ष नारायण प्रसाद अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । नगरपालिकाले पत्रकार सामुहीक दुर्घटना बिमा कार्यबिधि २०७९ निर्माण गरी कार्यपालिका बैठकबाट अनुमोदन गरेर आज महासंघसंग सम्झौता गरेको हो । आगामी दिनहरुमा बिमा कार्यक्रमलाई निरन्तरता दिने गरी कार्यबिधि वनाएर व्यवस्थित गरिएको रेग्मीले जानकारी दिनुभयो ।
कार्यबिधिमा बिमाका लागि नगर प्रमुख संयोजक भएको समिति रहेको छ । महासंघका अध्यक्ष समेत समितिमा रहने गरि कार्यबिधि वनाईएको छ । आज सम्झौता भए संगै प्रकृया अघि वढ्ने र केही दिन भित्रै महासंघका सदस्यहरुको बिमा हुने रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो “यसबाट पत्रकार र परिवार लाभान्वित हुने छन् ।” कसैको पनि दुर्घटना नहोस र लाभान्बित हुन नपरोस भन्ने आफ्नो चाहना रहेको भन्दै उहाँले भै परि आउने दुर्घटना पछि राहतका लागि बिमा कार्यक्रम गर्न लागिएको बताउनुभयो ।
कालिका नगरपालिकाले यस अघि गत आर्थिक वर्षमा पत्रकारको रु ७ लाखको दुर्घटना बिमा गराएको थियो । त्यस अघिल्लो वर्ष रु ३ लाखको दुर्घटना बिमा गरिएको थियो । अबका वर्षहरुमा कार्यबिधिनै वनाएर रु १० लाखको दुर्घटना बिमा गर्न लागिएको हो । यो बिमा अन्तर्गत दुर्घटनाबाट मृत्यु भएकाको परिवारलाई रु १० लाख र घाईते हुनेको उपचार खर्च पाउने गरी कम्पनी छनोट गरेर बिमा गरीने छ ।
नगरपालिकाका उपप्रमुख बिमला तामाङ्ले नगरपालिका र महासंघका बिचमा संस्थागत रुपमा यो कार्यक्रम संगै सहकार्य भएको बताउनुभयो । महासंघका अध्यक्ष अधिकारीले हाल महासंघमा २७६ पत्रकार रहेकोमा अन्यत्र दुर्घटना बिमा भएकालाई घटाएर अन्य सबैको बिमा गरिने वताउनुभयो । संस्थागत रुपमा नगरपालिकासंग सम्झौता गर्न पाएकोमा खुशि प्रकट गर्दै उहाँले यसबाट पत्रकार र परिवार लाभान्बित हुने बताउनुभयो ।






