चितवन । नवलपुरको गैडाकोटमा रहेको टाइम फर्मासिटिकल्सले आफ्नो स्थापनाको २५ औँ बार्षिकोत्सव भव्य रुपमा मनाएको छ । चितवनको भरतपुरमा एक समारोहका बीच आफ्नो स्थनापनाको २५ औँ बार्षिकोत्सव विविध कार्यक्रम सहित मनाएको हो । कार्यक्रममा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले औषधी उद्योगसँग सम्बन्धित नीतिगत समस्याहरु समाधान हुनुपर्ने बताउनुभयो । उहाँले औषधी खरिदका लागि ठूलो रकम विदेशीने भन्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने नीति ल्याउन आवश्यक रहेको बताउनुभयो । अधिकारीले नेपाली जडीबुटी र कच्चा पदार्थ प्रयोग गरेर औषधी उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय औषधी प्रयोगशालका पानबहादुर क्षेत्रीले औषधी उत्पादनको क्षेत्रमा ठूलो प्रविधिको प्रयोग गरिएको भन्दै नेपाली औषधी गुणस्तरीय बनाउन ठूलो मिहिनेत परेको स्पष्ट पार्नुभयो । औषधी व्यवस्था विभागका सन्तोष केसीले कठिन परिस्थितिमा पनि नेपाली उद्योगहरुले औषधी उत्पादन गरिरहेको भन्दै बंगलादेशमा लिईएको आत्मनिर्भर औषधि आयातमा प्रतिबन्धको नीति नेपालमा पनि लागू गर्नुपर्ने बताउनुभयो । नेपाल औषधी उत्पादक संघका महासचिव विप्लव अधिकारीले राज्यले औषधीलाई अत्याआवश्यक हो भन्ने दृष्टिले नरहेको बताउनुभयो । उहाँले नेपालमा ८३ वटा उद्योगहरुले औषधीहरु उत्पादन गरिरहेको भन्दै थप उद्योगहरु आउने क्रममा रहेको जानकारी गराउनुभयो । उहाँले टाईम यस क्षेत्रको माउ कम्पनी भएको बताउदै आफ्ना कम्पनीहरु जन्माउनमा पनि टाईमको भूमिका रहेको बताउनुभयो । कार्यक्रममा उद्योगका कार्यकारी अध्यक्ष डा.जीनारायणबहादुर क्षेत्रीले २८ बर्ष अगाडी उद्योग स्थापनाको तयारीको स्मरण गर्दै धेरैले उद्योगमा लगानी नगरी औषधीको व्यापार गर्न सुझाव दिएको बताउनुभयो । उहाँले आफूले जसरी भएपनि स्वदेशमा नै उद्योग खोल्ने अठोट लिएर अघि बढेको भन्दै आज सफलता मिलेको बताउनुभयो । यहाँसम्म आईपुग्न धेरै मिहिनेत गर्न परेको भन्दै उहाँले आज टाईम बालियो कम्पनीको रुपमा स्थापित भएको बताउनुभयो ।

कार्यक्रममा कम्पनीका सञ्चालक आशिष भण्डारीले स्वागत गर्नुभएको थियो । कम्पनीका सचिव धुव्र आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रबन्ध निर्देशक सुर्दशनलाल श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सो अवसरमा उद्योगमा निरन्तर २५ बर्ष काम गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको थियो । विसं २०५५ साल मंसिरमा तत्कालीन मुकुन्दपुर गाउँ विकास समिति र हालको गैँडाकोट नगरपालिका वडा नं–१० मुकुन्दपुरमा यो उद्योग स्थापना गरिएको थियोे । एक करोड १० लाख रूपैयाँको लागतमा सुरू भएको यो उद्योगमा अहिले ५० करोडभन्दा बढीको लगानी भइसकेको छ । तत्कालीन समयमा ६ जना शेयरधनी रहेको यो उद्योगमा शेयरधनी संख्या बढेको छ । नारायणगढ र काठमाडौँका शेयरधनी रहेको यो उद्योगमा पाँच लाखदेखि दुई करोडसम्म लगानी गर्ने शेयरधनी रहेका छन् । सुरूवातमा आठ प्रकारका औषधि उत्पादन गर्ने उद्योगमा अहिले २५० भन्दा बढी प्रकारका औषधि उत्पादन हुँदै आएका छन् ।

यो उद्योगले सुरूमा साइनेक्स, हाइमोक्स, प्याराफ्लाम जस्ता औषधि उत्पादन गरेको थियो । हाल उद्योगले मुटु, मधुमेह, एन्टिबायोटिक्स, मनोरोग, जनरल मेडिसिडन जस्ता औषधि उत्पादन गर्दै आएको कार्यकारी अध्यक्ष क्षेत्री बताउनुहुन्छ । मलम, ट्याबलेट, क्याप्सुल, झोल, कान र आँखाका ड्रप यहाँ उत्पादन हुँदै आएका छन् । क्षेत्रीका अनुसार सो उद्योगले खोपबाहेकका सबै औषधि उत्पादन गर्दै आएको छ । ३७० जना कामदारलाई रोजगारी दिन उद्योग सफल भएको छ । रूघाखोकीको साइनेक्स, दुखाइ कम गर्ने प्याराफ्लाम, इन्टीबायोटिक्स हाइमोक्स, एजेटटी, मुटुको लोडिप, भिटामिन बी कम्प्लेक्स जस्ता औषधि यहाँबाट उत्पादन हुँदै आएका छन् । पाँच सात महिनाभित्रमा चीन र अफ्रिकामा औषधि निर्यातको तयारीमा रहेको उद्योगको भगिनी संस्थानले नेपालमै लोड सल्लोबाट क्यान्सर उपचारको औषधिको कच्चा पदार्थसमेत बनाउँदै छ । भविष्यमा खोपसहित नयाँ नयाँ औषधि उत्पादन गर्ने योजनामा रहेको यो कम्पनीलाई देशकै अग्रणी कम्पनी बनाउने लक्ष्य लिईएको क्षेत्री बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !