चितवनः अंग्रेजी नयाँ बर्षमा पर्यटकीय क्षेत्रका होटल भरीन सुरु गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको सौराहा, पटिहानी, मेघौली लगाएतका क्षेत्रका ठूला होटल भरिएका छन् । साना होटलहरु पनि साँझ सम्म भरिने व्यवसायीहरु वताउँछन् ।
नयाँ वर्षका अघिल्ला दुई दिन सार्बजनिक बिदा परेकाले घुम्न रुचाउनेहरुका लागि उपयुक्त समय वनेको छ । नारायणगढ मुग्लिन सडक खण्ड दिउँसोमा बन्द हुने हुँदा केही प्रभावित भए पनि बिहान वेलुकाको समयमा आन्तरिक पर्यटक धेरै आएको व्यवसायीहरु बताउँछन् ।
सौराहाका निजी हात्ती सञ्चालन गर्ने सामुहीक सहकारी युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले दुई दिन यता हात्ती र जीप भरिएको बताउनुभयो । साँझ सम्ममा सबै होटल भरिने उहाँको अनुमान रहेको छ । उहाँले भन्नुभयो “अंग्रेजी नयाँ वर्षमा पर्यटकको राम्रो उपस्थिति रहेको छ ।”
सौराहामा दुई वटा होटल सञ्चालन गर्दै आउनु भएका माधब दुवाडी दुई दिन यता दुबै होटल भरिएको बताउनुहुन्छ । होटल सेभेन स्टारमा आज सांगितिक कार्यक्रम रहेको भन्दै उहाँले अर्को वेष्टउड पनि भरिएको बताउनुभयो । उहाँले भन्नुभयो “अंग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकको राम्रो उपस्थिति रहेको छ ।” क्षेत्रीय होटल संघका महासचिब गुणराज थपलिया अधिकांश होटल भरिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “नयाँ वर्ष मनाउन आउने पर्यटकको संख्या राम्रो छ ।” बिगत वर्षमा जस्तो सडकमा पर्यटक नभरिए पनि होटलमा राम्रो भएको उहाँको भनाई छ ।
पटिहानी र मेघौलीका होटल पनि पर्यटकले भरिएका छन् । मेघौलीको वाइल्ड लाईफ सेन्चुरीका सुबोध प्रधानले दुई दिन यता होटल भरिएको बताउनुभयो । उहाँले भन्नुभयो “अहिलेको नयाँ वर्ष पर्यटकको उपस्थिति राम्रो छ ।” जंगल भिल्ला पटिहानीका संञ्चालक गणेश पौडेलले दुई दिन यता भारतीय र नेपाली पर्यटकले होटल भरिएको बताउनुभयो । क्षेत्रीय होटल संघका अध्यक्ष दिपक भट्टराईले क्रमश पर्यटक वढ्दै गएको साँझ सम्ममा होटल भरिने अपेक्षा गरिएको बताउनुभयो । सौराहाका सबै होटललाई समग्रमा हेर्दा शुक्रबार झण्डै आधा भरिएको उहाँको भनाई छ । घुम्न आउनेहरुले पाए सम्म राम्रा होटल चाहाने गर्दछन् । संघको सदस्यमा साना होटलहरु धेरै छन् । क्रमश ती होटलहरु पनि भरिने क्रममा रहेका छन् ।
पर्यटक बढे पछि निकुञ्ज आसपासका रेष्टूरेन्टहरु पनि भरिएका छन् । सौराहामा १२० होटल क्षेत्रीय होटल सङ्घमा आबद्ध रहेका छन् । सङ्घमा दर्ता नभएका अरु साना होटल पनि रहेका छन् । भट्टराईका अनुसार सौराहामा आठ हजार पर्यटक अट्न सक्ने क्षमता रहेको छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनमा हात्ती सफारी, जीप सफारी, डुङ्गा सयर, पैदल यात्रा गरेर दुर्लभ बाघ, गैंडा जस्ता वन्यजन्तु हेर्न यहाँ पर्यटक आउने गर्दछन् । थारु संस्कृति हेर्न पर्यटक रुचाउँछन् । कोभिडका कारण थला परेको पर्यटन व्यवसाय उठ्ने अपेक्षामा व्यवसुायी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !