चितवनः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन आउनु भएको छ । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक उहाँ गृहजिल्ला चितवन आउनु भएको हो ।
दाहाल नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव (६० औं वार्षिकोत्सव समारोह) उद्घाटन गर्न यहाँ आउनु भएको हो । हिरक महोत्सबमा सहभागी भई उहाँ आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
विद्यालयका प्राचार्य पूर्ण दवाडीका अनुसार सो विद्यालय गुणस्तर मापन केन्द्रको परीक्षणमा देशकै दोस्रो विद्यालय हो । हालै गरिएको परीक्षणमा १०० अंकमा ९३.०५ अंक प्राप्त गरी दोस्रो भएको उहाँले बताउनुभयो । बि.सं. २०२० साल जेठ ६ गते रात्री कालिन विद्यालयबाट पठनपाठन शुरु गरेको यस विद्यालयमा हाल ३ हजार ५७० विद्यार्थी अध्ययनरत छन् ।
प्रधानमन्त्री दाहालले विद्यालयको हिरकद्वारको उद्घाटन, हिरक स्तम्भको अनावरण, स्मारिका विमोचन, नवनिर्मित भवनको शिलन्यास, विज्ञान प्रदर्शनी र खाना महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । दाहाल भरतपुर महानगरपालिका वडा नम्बर १४ निवासी हुनुहुन्छ । उहाँको शिवनगरमा आफ्नै घर रहेको छ ।






