चितवनः आयात नरोकिंदा नेपाली औषधि उद्योग मारमा परेका छन् । नेपाललाई आवश्यक पर्ने ७० प्रतिशत औषधि यही उत्पादन गर्न सकिने भए पनि आयात नरोकिंदा उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।
नेपालमा १२५ औषधि उद्योग दर्ता भएका छन् । जसमध्ये ८३ उद्योगका औषधि बजारमा आईसकेका छन् । नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीका अनुसार नेपालमा एउटा औषधि पाँच वटा उद्योगले उत्पादन गरेकालाई आयात रोक्दा मात्रै पनि दुई सयभन्दा बढी प्रकारका औषधि रोकिन्छन् । उहाँको भनाईमा २० वर्ष अघि बंगलादेशले दुई कम्पनीले उत्पादन गरेका औषधि विदेशबाट आयातमा रोक लगाएको थियो । जसको नतिजा स्वरुप अहिले बंगलादेश आत्मनिर्भर मात्रै होइन, निर्यातमा पनि अग्रणी बनेको छ ।
भारत लगायतका देशले पनि आफू आत्मनिर्भर भएका औषधि आयातमा रोक लगाउने गरेको अधिकारीले बताउनुभयो । विश्व बजारमा पहिलो चीन र दोस्रो भारत सबैभन्दा बढी औषधि उत्पादन गर्ने मुलुक भएको व्यवसायी बताउँछन् ।
यस अघि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले ३० प्रकारका औषधि आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेर पनि कार्यान्वयन नभएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो “अहिले पनि दाहाल प्रधानमन्त्री हुनुहुन्छ, उद्योग बच्ने गरी निर्णय हुन्छ भन्नेमा हामी विश्वस्त छौं ।”
नेपालमा पाँच वटा उद्योगले उत्पादन गरेको औषधि आयातमा प्रतिबन्ध लगाएमा दुई वर्षभित्रमा ९५ प्रतिशत आत्मनिर्भर हुने अधिकारीको भनाई छ । अहिले बनाउन सक्ने क्षमताको हिसाबले ७० प्रतिशत र बजारको हिसाबले ४५ प्रतिशत आत्मनिर्भर भएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो “आयात रोक्न सकियो भने अहिले नै हामी ७० प्रतिशत आत्मनिर्भर हुन्छौं ।”
बि.सं. २०७४ सालमा ५० वटा उद्योग मात्रै रहेकोमा त्यसपछिका वर्ष एकाएक उद्योग थपिएका हुन् । अधिकारी थपिएका सबै उद्योगलाई एउटै औषधि उत्पादनको अनुमतिको सट्टा फरक फरक औषधि उत्पादनको ईजाजत दिनुपर्ने बताउनुहुन्छ ।
संघका निवर्तमान अध्यक्ष डा.जीनारायण बहादुर क्षेत्री आवश्यकभन्दा दोब्बर औषधि उत्पादन गर्न सकिने क्षमता उद्योगहरुमा रहेको बताउनुहुन्छ । औषधि उद्योगमा मात्रै रु.५० अर्बभन्दा बढी लगानी भईसकेको भन्दै उहाँले उद्योगको पक्षमा सरकार हुनुपर्ने बताउनुभयो । नेपालमा खपत हुने आधाभन्दा बढी औषधिमध्ये ९० प्रतिशत भारतीय आउने गर्दछ । १० प्रतिशत बंगलादेश लगायत अन्य देशबाट आउने गरेको क्षेत्री बताउनुहुन्छ ।
क्षेत्रीका अनुसार एक वर्षमा रु. ३० देखि ४० अर्ब औषधिका लागि विदेशिने गरेको छ । नेपाली औषधि उद्योगले रु.३० अर्ब हाराहारीको व्यापार गर्ने गरेका छन् । नेपालमा पर्याप्त उत्पादन भईरहेका औषधिको आयात तत्काल रोक्नुपर्ने उहाँ बताउनुहुन्छ ।
उद्योग स्थापनाका लागि आवश्यक पर्ने सामग्रीमा भन्सार छुट, सरल व्याजदरमा ऋण, विशिष्टकृत औषधिको उत्पादन गर्नेलाई प्रोत्साहन, अनुसन्धानमा सरकारी लगानी हुनु पर्ने क्षेत्रीको भनाई छ । नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने उहाँ बताउनुहुन्छ । सरकारले सहयोग गरेमा नेपाली उत्पादनले नेपाललाई मात्रै नभएर विदेशमा समेत पु¥याउन सकिने क्षेत्रीको भनाई छ ।
२५ वर्ष पहिला क्षेत्रीको नेतृत्वमा गैंडाकोटमा स्थापना गरिएको टाईम्स फर्मासिटिकल्स प्रा.लि.ले विदेशमा औषधि निर्यात गर्न लागेको भन्दै उहाँले सहज वातावरण बनेमा सबै उद्योगले निर्यात गर्न सक्ने बताउनुभयो । अहिलेसम्म नेपालमा खोप बाहेकका औषधि उत्पादन हुँदै आएका छन् । उत्पादनमा कठिन हुने औषधिहरु समेत यही उत्पादन गरेर देशलाई आत्मनिर्भरतर्फ लैजानु पर्ने क्षेत्रीको भनाई छ ।
मुटु, क्यान्सर लगायतका रोगका औषधिहरु समेत यही उत्पादन हुन थालेको छ । पछिल्लो समय ठूलो लगानीमा खुलेका उद्योगहरु आयात नरोकिए धरासायी हुने क्षेत्री बताउनुहुन्छ । उहाँले भन्नुभयो “सरकार निजी क्षेत्रमैत्री हुन नसक्दा उद्योग धरासायी हुने अवस्थामा पुगेका छन् ।” चर्काे व्याजदर र विदेशी कम्पनीसँग अस्वस्थ प्रतिस्पर्धाको मारमा नेपाली उद्योग रहेको उहाँको भनाई छ ।






