चितवनः माईती नेपाल चितवनले सन् २०२२ मा १२ जनाको उद्वार गरेको छ । यौन शोषण र बेचबिखनमा परेका उनीहरुको उद्वार गरिएको हो । जिल्लाका विभिन्न स्थानमा रहेका होटलहरूबाट उनीहरुको उद्वार गरिएको हो । सन् २०२१ मा १० जनाको उद्धार गरिएको थियो । जस मध्ये १८ वर्ष मुनिका ६ जना र १८ वर्ष माथिका ४ जना रहेका थिए ।
माईती नेपाल चितवनले आज यहाँ आयोजना गरेको मानव बेचबिखन तथा ओसारपसार र बाल यौन शोषण नियन्त्रणका लागि पत्रकार सम्मेलनमा यो जानकारी गराईएको हो । उद्वार गरिएकोमा १०,जना महिला र बालिका रहेका छन् भने २ जना बालक रहेका छन् । सन् २०२२ मा संस्थाले ५०८ जनालाई बेचबिखन र यौन शोषणबाट बचाएको संस्थाका कार्यक्रम संयोजक ईश्वर गिरिले जानकारी दिनुभयो । यस्तै ४९५ जनाको पुनर्मिलन गराईएको उहाँले बताउनु भयो । सिमानाबाट घर फर्काईएको ३९६ जना, १ हजार ७१६ जनालाई बैदेशिक रोजगार सम्बन्धि जानकारी दिईएको थियो ।
मानव बेचबिखनका लागि लैजान लागिएको आशंकामा ७८८ वटा सवारी साधनमा अनुगमन गरीएको छ । यस बर्ष माईती नेपालमा मानिस हराएको ३४ वटा निवेदन परेको र ती मध्ये १२ जना भेटिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । घरेलु हिंसाका ३८ वटा निबेदन परेका थिए ।
यस वर्ष माईती नेपालले १३ जना बालबालिकाको विभिन्न संघ संस्थाहरुमा पठाएको सो अबसरमा जानकारी दिईएको थियो । माईती नेपालको आश्रय स्थलमा ५ जना रहेको गिरिले जानकारी दिनुभयो । जिल्लामा दलित, जनजाती र पिछडा वर्गका समुदायमा यो समस्या बढि रहेको सो अबसमा जानकारी दिईएको थियो ।
कार्यालयले सन् २०२२ मा ३ वटा मानव बेचबिखनका मुद्दा र २३ वटा जवरजस्ति करणीको मुद्दा दर्ता भएको उहाँले बताउनुभयो ।





