चितवनः चितवन राष्ट्रिय निकुञ्जमा नरभक्षी बाघ राख्नका लागि वनाईएका खोर बाघले भरिएका छन् । निकुञ्जमा खोरमा मात्र पाँच बाघ रहेका छन् ।
निकुञ्जको मुख्यालय कसरामा तीन वटा र सौराहामा दुई वटा बाघ खोरमा रहेका छन् । निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार सौराहामा मेघौली र कुमरोजबाट मानिसलाई आक्रमण गरे पछि उद्धार गरिएका बाघ राखिएको छ । कसरामा बाँकेबाट दुई वर्ष अघि ल्याएको एउटा बाघ रहेको छ। त्यस्तै देवनगर र माडीबाट ल्याईएका दुई बाघ रहेका छन् ।
ती बाघहरु ८ वर्ष देखि १५ वर्ष सम्मका रहेको तिवारीले जानकारी दिनुभयो । एक जना देखि चार जना सम्मको ज्यान लिएको अनुमान गरिएका नरभक्षी बाघ खोरमा राखिएका हुन । यस वर्ष माडीमा एक जनालाई बाघले आक्रमण गरेपछि उद्धार गरी ल्याईएको हो । अन्य बाघ अघिल्लो आर्थिक वर्षका हुन । यस आर्थिक वर्षमा हात्तीले दुई र गैंडाले एक जनालाई आक्रमण गरी ज्यान लिएको छ । निकुञ्जमा थप तयारी बाघ राख्ने खोर बाँकी छैन । कसरामा रहेको एउटा पुरानो लाई मर्मत गरिदैं छ । अरु बाघ थपिएमा बिकल्पको खोजी गर्नु पर्ने हुन्छ ।
तिवारीले पश्चिम चितवनको मेघौलीमा हात्तीले मान्छे मारेपछि सोही क्षेत्रमा घाईते बाघ रहेको अनुमानमा खोजी कार्य जारी राखिएको बताउनुभयो । त्यहाँ बाघ भेटिएमा राख्नका लागि पुरानो खोर मर्मत हुँदै छ । बाघको संख्या निकुञ्जमा बढे संगै समस्यामा परेका बाघ पनि बढेका हुन ।
सन् २०२२ को गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा बयस्क बाघको संख्या १२८ रहेको छ । संगै जोडीएको पर्सा राष्ट्रिय निकुञ्जमा यो संख्या ४१ रहेको छ । देशभर बाघको संख्या ३५५ छ । बाघको राम्रो बासस्थानको रुपमा यो निकुञ्ज बिकास हुँदै गएको छ । अधिकांश मानिस आक्रमण गर्ने घटना निकुञ्ज भित्रनै भएकाले आहारको कमि नभएको तिवारी बताउनुहुन्छ । उहाँको भनाईमा सन् २०२२ मा गरिएको एक सर्बेक्षणमा निकुञ्ज भित्र एक वर्ग किलोमिटरमा ९९ दशमलब ६ वटा आहाराको घनत्व रहेको पाईएको थियो । यो राम्रो मानिन्छ । बिगतको तुलनामा आहाराको घनत्व वढेको उहाँ बताउनुहुन्छ ।
बाघको पहिलो रोजाई जरायो हुने गर्दछ । समग्र मृग प्रजाती बाघको आहारा हो । जरायो संगै लगुना, रतुवा जस्ता वन्यजन्तु बाघले सिकार गर्दछ । ती बन्यजन्तु नपाएमा बाघले बदेल समेत खाने तिवारी बताउनुहुन्छ । घाईते र नरभक्षी बन्यजन्तु बढे पछि निकुञ्जको देवनगर स्थित वरण्डाभार वनमा व्यवस्थित ठाउँ निर्माणको तयारी गरिएको छ । खुल्ला चिडिया खानाको रुपमा बिकास गरेर घाइते र नरभक्षी बाघ, गैंडा, हात्ती जस्ता वन्यजन्तुलाई त्यहाँ राख्ने तयारी गरिएको छ ।
सर्बसाधारणलाई टिकट लिएर अबलोकन गराउँदा त्यसको आम्दानीले बन्यजन्तु पाल्न सकिने हुँदा सोही अनुरुप काम अघि वढाईएको हो । हाल सो ठाउँमा कार्यालय भवन वनाईएको छ । क्रमश खुल्ला खोर वनाउने योजना रहेको तिवारीले जानकारी दिनुभयो । निकुञ्जले अहिले खोरमा राखिएका बाघलाई दैनिक पाँच किलो पाडाको मासु र पानी खुवाउँदै आएको छ । खोरमा राखिएका बाघ कतिपयलाई बानि बेहोरा परिवर्तन भएको अनुमानमा निकुञ्जमा पुनः छोडिन्छ भने धेरै त्यही बुढो भएर मर्ने गर्दाछन् ।

प्रतिक्रिया दिनुहोस !