चितवनः जिल्लाको मुख्य सहरी क्षेत्रमा आफ्नो कार्यक्षेत्र वनाएर इन्टरनेट सेवा प्रदान गर्दै आएका १४ वटा कम्पनीले पोलभाडा सम्झौतामा ढिलाई गरेका छन् । आर्थिक बर्षको पहिलो तीन महिना भित्र पोलभाडा सम्झौता गर्नु पर्नेमा कुनै पनि कम्पनी सम्झौताका लागि आएका छैनन् ।
बिद्युत प्राधिकरण बितरण केन्द्र भरतपुरका ई. राजेन्द्र पौडेलका अनुसार यस केन्द्र मार्फत पोलभाडा सिफारीस लिएर प्राधिकरणसंग सम्झौता गर्नु पर्ने हुन्छ । अहिले सम्म कुनै कम्पानी नआएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “पोलभाडा सम्झौताका लागि अहिले सम्म एउटा कम्पनी पनि आएको छैन ।”
प्राधिकरणले पालिका अनुसार पोलभाडा कायम गरेको छ । जस अनुसार महानगर भित्र एक किलोमिटरका लागि रु ९ हजार र नगरपालिका एबं गाउँपालिकाका लागि रु ७ हजार रहेको उहाँले जानकारी दिनुभयो । आर्थिक वर्षको ५ महिना पुरा हुँदा समेत पोलभाडा सम्झौता गर्न इन्टरनेट प्रदायक संस्था नआए पछि केन्द्रले अभियान सञ्चालन गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । निर्वाचन, चाडपर्वका कारण काम गर्न नपाएको बताउँदै उहाँले यही पुस १५ गते देखि पोलभाडा सम्झौताका लागि अभियान सञ्चालन गर्ने बताउनुभयो ।
अभियानमा सुरुवाती समयमा प्रदायक संस्थाहरुलाई वोलाएर सम्झौताका लागि आग्रह गर्ने र अटेर गरे सामान जफत गर्ने उहाँले बताउनुभयो । अघिल्लो आर्थिक वर्षमा यहाँ रहेका इन्टरनेट प्रदायक संस्थाले रु १ करोड ८५ लाख पोलभाडा बापतको रकम बुझाएको भए पनि यस बर्ष सम्झौताका लागि नआएका हुन । उहाँले भन्नुभयो “यस वर्ष पोलभाडा बापतको रकम करिब २ करोड उनीहरुले प्राधिकरणलाई बुझाउनु पर्ने हुन्छ ।” यस बितरण केन्द्र अन्र्तगत भरतपुर महानगरपालिका वडा नम्बर १ देखि १६ सम्म, यस्तै वडा नम्बर २२ र २९ पर्छन् । इच्छाकामना गाउँपालिका समेत यसै केन्द्र अन्तर्गत पर्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !