चितवनः भरतपुर महानगरपालिकाले महानगर भित्र स्थायी बसोबास गरेका ७२ जना छोरीहरुको जीवन बीमा गरेको छ । महानगरपालिकाले बि. सं. २०७९ जेठ ११ गतेको निर्णय अनुसार महानगर भित्र जन्मियका छोरीहरुको बीमा गरेको हो ।
भरतपुर महानगरपालिका भित्र स्थायी वसोबास गर्ने र स्वास्थ्य संस्थामा जन्म भएका बच्चाहरुको बीमा गरिएको हो । महानगर र राष्ट्रिय बीमा संस्थानको सहकार्यमा उनीहरुको बीमा गरिएको महिला विकास अधिकृत शान्ता पौडेलले जानकारी दिनुभयो । “बाल उमङ्ग बीमालेख” हस्तान्तरण कार्यक्रमको आयोजना गरी आज छोरीका अभिभावकहरुलाई बिमित प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।
महानगरमा परेका १५३ वटा निवेदन मध्ये प्रक्रिया पूरा गरेका उनीहरुलाई पहिलो चरणमा बीमा गरिएको हो । अन्यको समेत प्रक्रिया पूरा गरी बीमा गरिने सो अवसरमा जानकारी दिईयो ।
बीमा संस्थानले कात्तिक २ गते बीमा पोलिसी जारी गरेको भए पनि निर्वाचन आचार संहिताका कारण वितरण गर्न बाँकी रहेको थियो । बाल उमङ्ग जीवन बीमा कार्यक्रम अन्तर्गत महानगरपालिकाले १५ वर्षका लागि छोरीको प्रिमियर बुझाउने छ । महानगरले प्रिमियम रकम रु ५० हजार बुझाउने छ भने १५ वर्ष पछि छोरीहरुले रु १ लाख पाउने छन् ।
बिमित प्रमाणपत्र महानगर प्रमुख रेनु दाहालले छोरीहरुको भु्रण हत्या गर्ने र जन्मदर्ता नगर्ने परिपाटिको अन्त्यका लागि महानगरले यो कार्यक्रम लागू गरेको बताउनुभयो । छोरीले पनि अवसर पाए काम गरेर देखाउन सक्ने भन्दै उहाँले यो बीमाले छोरीको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । आफू दोस्रो पटक महानगर प्रमुखमा बिजयी भएसँगै पदबहालीका क्रममा आफुले गरेको निर्णय कार्यान्वयनमा आएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष परमेश्वर खनालले छोरी बीमा कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । छोरीको महत्व बुझाउन र समाजलाई परिवर्तन गर्न यो कार्य फलदायी बन्ने उहाँको भनाई छ ।






