चितवनः पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरभित्र पर्ने नारायणगढ–गोन्द्रङ सडक खण्डमा अतिक्रमण गरी बनाईएका घर टहरा आजबाट भत्काउन शुरु गरिएको छ । सडक विस्तार गरी ६ लेनको बनाउने कार्य भईरहेको उक्त खण्डका अतिक्रमित घर टहरा भत्काउन लागिएको हो ।
डिभिजन सडक कार्यालय चितवनले नारायणगढको पुल्चोकबाट घर भत्काउन सुरु गरेको छ । यो सडक निर्माणका क्रममा ५८ वटा घर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले बताउनुभयो । कार्यालयले दुई पटकसम्म सूचना जारी गर्दा समेत घरधनीले अटेर गरेपछि भत्काउन लागिएको उहाँको भनाई छ । घरका टप भत्काउनु पर्नेको संख्या एक सयभन्दा माथि छ । ती घरहरुको टप बाहेक १० सेन्टिमिटरदेखि १.५ मिटरसम्म भत्काउनु पर्ने पौडेलले जानकारी दिनुभयो ।
सडक ५० मिटर फराकिलो हुने भएकाले त्यसभित्र परेका संरचना भत्काईने उहाँले बताउनुभयो । यस अघि ३५ दिन र १५ दिनको समय दिएर सूचना जारी गर्दा अटेर गरेकाले कार्यालय आफैले भत्काउन लागेको हो ।






