चितवनः नेपाल लघुवित्त बैंकर्स संघ र लघुवित्तीय संस्था बिरुद्ध संघर्ष समिति बीच १२ बुँदे सहमती भएको छ । संघ र संघर्ष समितिले आज यहाँ आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा १२ बुँदे सहमती भएको जनाईएको हो । १२ बुँदे सहमती सँगैं संघर्षका कार्यक्रमहरु स्थगित भएको सो अवसरमा जानकारी दिईयो ।

लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिई कालो सूचिमा परेका सदस्य, धेरै लघुवित्त बित्तीय संस्थाबाट कर्जा लिई विस्थापित सदस्यहरुको समस्या समाधान गर्नलाई आवश्यक संयन्त्र बनाई त्यस्ता व्यक्तिहरुको समस्या समाधान गर्ने, ऋण तिर्न नसकेर आन्दोलनमा लागेका ऋणीहरुको समस्या समाधानका निम्ति आवश्यक पहल गर्ने सहमती भएको छ । यस्तै लघुवित्त संस्थाहरुले गर्ने लगानीलाई उत्पादनमा आधारित बनाई किस्ता निर्धारण तथा व्यवसायजन्य लगानी सुरक्षाको लागि बिमालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने सहमती भएको छ ।

यसैगरी विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड–१९) को कारण नेपाल सरकारले गरेको वन्दावन्दी र हालको आर्थिक मन्दीको कारण देखा परेको असहज स्थितिमा त्यसको प्रतिकुल प्रभाव विपन्न तथा ग्रामीण क्षेत्रमा पर्न गई उक्त क्षेत्रमा संचालित स–साना व्यवसाय तथा कृषि पेशामा आवद्ध जनसमुदायमा प्रभाव परेको हुँदा सोको न्यूनिकरणका लागि लघुवित्त वित्तीय संस्थाको लगानीलाई अझ बढी प्रभावकारी रुपमा कार्यान्वयन गरिने, ऋणी सदस्यहरुसँग कर्जा असुली गर्दा मानवीय र सम्मानजनक व्यवहार गर्दै स्वस्थ लघुबित्त सम्बन्धी अभ्यास कार्यान्वयन गर्ने जस्ता बिषयमा सहमती भएको संघका महासचिव रामबहादुर यादवले वताउनुभयो ।

उहाँले लघुवित्त वित्तीय संस्थाको प्रतिशाखा ५ जना विपन्न ग्राहक सदस्यका छोरा÷छोरीलाई सरकारी आधारभूत तथा माध्यामिक तहको छात्रबृत्ति व्यवस्था गर्ने साथै वित्तीय संस्थाले कर्मचारी पदपूर्ति गर्दा ग्राहक सदस्यहरुका छोरा÷छोरीलाई योग्यता र क्षमताको आधारमा प्रथामिकता दिने निर्णय समेत भएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका उपाध्यक्ष एलिमा मियाले लघुवित्त बैंकर्सहरुले आफु भित्र भएका समस्या समाधान गर्दै लैजाने र ऋणीको समस्या समेत समाधान गर्न पहल गर्ने गरी सहमती भएको बताउनुभयो । बिगत लामो समयदेखि आन्दोलन गर्दै आएका ऋणीहरुको आन्दोलन यो सहमती पछि स्थगित भएको उहाँले जानकारी दिनुभयो ।

समितिका महासचिव प्रेम विकले बिगत ८ महिनादेखि चल्दै आएको आन्दोलन स्थगित भएको बताउनुभयो । अहिले भएका समहती कार्यान्वयनका लागि समेत आन्दोलनका कार्यक्रमहरु स्थगित गर्नु परेको उहाँको भनाई थियो ।

लघुवित्त संस्थाहरुले ऋणीहरुमा पारेको समस्याको कारण वि. सं. २०७८ साल चैत २९ गते १५१ सदस्यीय संघर्ष समिति तयार गरी आन्दोलनका कार्यक्रमहरु गर्दै आएको समितिले भएका सहमती कार्यान्वयनमा ल्याउन सबै ऋणीहरुलाई आग्रह समेत गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल लघुवित्त बैंकर्स संघका सल्लाहाकार वसन्त लम्सालले ७ प्रतिशत हाराहारी खराव ऋणी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार लघुवित्त संस्थामा अहिले ३३ लाख १३ हजार ऋणी रहेका मध्ये ५ लाख ७७ हजार ९८१ जनाको ऋणको भाखा नाघेको छ । जस मध्ये धेरै ऋणीको ऋण थोरै मात्र रहेको छ ।

संघका पूर्ब कोषाध्यक्ष नुमनाथ पौडेलका अनुसार लघुवित्त संस्थामा अहिले समूह जवानीमा ८७ प्रतिशत ऋण लगानी र धितो जवानीमा १३ प्रतिशत ऋण लगानी भएको छ । समूह जवानीमा रु ७ लाखसम्म र धितो लगानीमा रु १५ लाखसम्म ऋण लगानी भएको उहाँले बताउनुभयो । लघुवित्त संस्थामा हालसम्म ६० लाख घरधुरी आवद्ध रहेका छन् । समूहगत रुपमा हेर्दा १३ लाख ६७ हजार रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस !