चितवनः नारायणगढ–गोन्द्राङ ६ लेन सडक विस्तारको क्रममा सडकसीमा भित्र रहेका घरटहरामा डोजर चलाईने भएको छ । डिभिजन सडक कार्यालय भरतपुरले डोजर चलाउन लागेको हो ।

कार्यालयले दुई पटकसम्म सूचना जारी गर्दा समेत घरधनीले अटेर गरेपछि भत्काउन लागिएको हो । कार्यालय प्रमुख रमेशप्रसाद पौडेलका अनुसार पुल्चोकबाट भरतपुर बसपार्कसम्म ५८ वटा घर सडक सीमाभित्र पर्दछन् । घरका टप भत्काउनु पर्नेको संख्या एक सयभन्दा माथि छ । ती घरहरुको टप बाहेक १० सेन्टिमिटरदेखि १.५ मिटरसम्म भत्काउनु पर्ने देखिएको छ ।

पौडेलका अनुसार आउँदो साताबाट घर भत्काउन थालिने छ । हेवि ईक्युमेन्ट डिभिजन कार्यालय हेटौंडाबाट एक्साभेटर मगाईदै छ । उहाँले भन्नुभयो “आज हामी प्रमुख जिल्ला अधिकारीसँग बसेर छलफल गरी आउँदो साताबाट घर टहरा भत्काउन शुरु गर्छाै ।”

सडक ५० मिटर फराकिलो हुने भएकाले त्यसभित्र परेका संरचना भत्काईने उहाँले बताउनुभयो । यस अघि ३५ दिन र १५ दिनको समय दिएर सूचना जारी गर्दा अटेर गरेको बताउनुभयो । सो सडक विस्तारको काम भईरहेको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले डिभिजन सडक कार्यालयको काममा सहयोग गरिने बताउनुभयो । उहाँले भन्नुभयो “उहाँहरुले कहिलेबाट काम थाल्नुहुन्छ, आवश्यक सुरक्षा हामी दिन्छौं ।” भत्कने धेरै घर नारायणगढ बजार क्षेत्रका छन् । केही घरहरु भरतपुरको हाकिमचोक लगायतका क्षेत्रका रहेका छन् ।

घरधनीहरुले तत्कालिन भरतपुर नगरपालिकामा नक्सा पास गरेकाले जबरजस्ती भत्काउन नहुने भन्दै वैकल्पिक उपायको खोजी गर्नुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस !