चितवनः चितवन राष्ट्रिय निकुञ्जले हिंस्रक वन्यजन्तु पहिचान गर्न मेघौली क्षेत्रमा क्यामेरा ट्यापिङ्को काम सुरु गरेको छ । निकुञ्जले पुष ३ गते देखि यो काम सुरु गरेको हो ।
निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार यही पुष २ गते भरतपुर महानगरपालिका वडा नम्बर २८ अन्द्रौलीकी महिलालाई जंगली हात्तीले आक्रमण गरे पछि त्यस क्षेत्रमा क्यामेरा राखिएको हो । बाघ गणनामा प्रयोग गरिएको क्यामेरा ट्यापिङ्को काममा राखिएको हो । मेघौली देखि गोलाघाट क्षेत्र सम्म क्यामेरा ट्यापिङ्को काम भईरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले चार वटा क्यामेरा प्रयोग गरिएको छ । मेघौली उपभोक्ता समितिको क्षेत्र भित्र पर्ने सो स्थानमा ध्रुवे हात्ती र एउटा बाघ रहेको सूचनाका आधारमा क्यामेरा ट्यापिङ्को काम सुरु गरिएको हो । बाघ घाईते अबस्थामा रहेको भन्ने सूचना र हात्ती समेत सोही क्षेत्रमा रहेकाले तीनको अबस्था पहिचान गरि व्यवस्थापनका लागि काम भईरहेको उहाँले बताउनुभयो । क्यामेराले ती वन्यजन्तु आवतजावत गरेको तस्बिर खिचे संगै त्यसलाई हेरेर व्यवस्थापनको काम गरिदैं छ ।
उहाँले भन्नुभयो “अबस्था पहिचान गरि कारण खोजी गर्ने र व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा निकुञ्जको प्राबिधिक टोलि लागेको छ ।” उहाँले थप्नुभयो “ध्रुबे हात्ती र घाईते बाघ सोही क्षेत्रमा हुँदा द्धन्द्ध वढ्ने देखिएकाले व्यवस्थापनका काममा लागेका हौ ।” चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ पशु चिकित्सक डा. बिजय कुमार श्रेष्ठको नेतृत्वमा टोलि परिचालन गरि काम भईरहेको निकुञ्जले जनाएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राबिधिक, नेपाली सेना र हात्ती सारका कर्मचारी सहित सो क्षेत्रमा तीन वटा हात्ती परिचालन गरिएको उहाँले बताउनुभयो । आबश्यकता अनुसार प्राबिधिक थपघट हुने उहाँको भनाई छ ।
चालु आर्थिक वर्षमा जंगली जनावारका कारण चार जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट २ जना, बाघको आक्रमणबाट एक जना र गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको तिवारीले वताउनुभयो । उहाँका अनुसार हात्तीको आक्रमणबाट मेघौली र देवनगरमा एक÷एक जनाको मृत्यु भएको हो भने बाघको आक्रमणबाट माडीमा एक जनाको मृत्यु भएको थियो । सौराहा क्षेत्रमा गैंडाको आक्रमण बाट एक जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !