चितवनः एउटै सिजनमा धेरै खेती उत्पादन गर्न यहाँका किसानहरु छिटो उत्पादन दिने बालीतर्फ आकर्षित भएका छन् । मुख्य गरी हिउँदे सिजनमा छिटो उत्पादन दिने बालीतर्फ कृषक आकर्षित भएका हुन् । कृषकहरु छिटो उत्पादन दिनेतर्फ लागेपछि ढिलो पाक्ने खेतीको उत्पादन र क्षेत्रफल घट्दै गएको छ ।

कृषि ज्ञानकेन्द्र भरतपुरका अनुसार यस वर्ष गहुँ खेती गरिएको क्षेत्रफल ४ हजार ५४५ दशमलब ९ हेक्टर रहेको छ । गत वर्ष ५ हजार ५१ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएकोमा यस वर्ष सो क्षेत्रफल घटेको हो ।

आर्थिक वर्ष २०७७÷०७८ मा ५ हजार १५१ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएको थियो । गत आर्थिक वर्षमा जिल्लामा २२ हजार १४८ मेट्रिकटन गहुँ उत्पादन भएको थियो भने उत्पादकत्व ४ दशमलब ३ रहेको थियो । आर्थिक वर्ष २०७७÷०७८ मा २३ हजार २४८ मेट्रिकटन गहुँ उत्पादन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

छोटो समयमा उत्पादन लिने बालीतर्फ कृषक आकर्षित हुँदा गहुँ खेती गर्ने क्षेत्रफल घट्दै गएको हो । धान काटेसँगै गहुँ लगाउने कृषकले चैतसम्म एउटै बालिका लागि कुर्नु पर्ने भएकाले यस खेती तर्फको आकर्षण घटेको कार्यालयका सूचना अधिकारी मिनबहादुर पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार गहुँ खेती हुने ठाउँमा अहिले कृषकले तोरी, तरकारी लगायतका खेती गर्न थालेका छन् ।

तोरी लगाउँदा चाँडो पाक्ने र राम्रो नाफा हुने भएकाले यस तर्फ कृषकको आकर्षण वढेको उहाँले बताउनुभयो । गहुँ लगाउँदा तरकारी र मकैका लागि समय ढिला हुने भएकाले कृषकहरुले अन्य बाली रोज्न थालेका हुन् ।

बिगत ३ वर्षको तथ्याङ्कलाई हेर्दा गहुँ खेतीमा भन्दा तोरी खेतीमा कृषकको आकर्षण वढ्दै गएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा १२ हजार २६० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएकोमा आर्थिक वर्ष २०७८÷०७९ मा १३ हजार २७० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको थियो । यस आर्थिक वर्षमा यो क्षेत्रफल वढेर १४ हजार ५७९ हेक्टर पुगेको उहाँले बताउनुभयो ।

तेलको माग बढ्नु र तोरीको मूल्यमा भएको बृद्धिले समेत यस तर्फ कृषक आकर्षित भएको उहाँले जानकारी दिनुभयो । यस वर्ष तोरीका लागि राम्रो मौषम भएकाले उत्पादन पनि बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !