चितवनः नारायणगढ–मुग्लिन सडक खण्डमा मंगलबार देखि दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुलको निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले सवारी रोक्न लागिएको हो ।
एक महिनाका लागि सडक रोकेर काम गर्न लागिएको हो । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ । भौगोलिक रुपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामको लागि सवारी आवागमन रोक्न लागिएको हो ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार नारायणगढतर्फबाट जाने यात्रुबाहक बस, मिनिबस, माईक्रो बस, साना सवारी साधनलाई पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोक्न लागिएको हो । यस्तै मालवाहक ट्रक, लरी, ट्रेलर, ट्रिपर, ट्यांकर लगायतका भारी सवारी साधनलाई भतेरी जंगलदेखि रामनगरसम्म बिहान १०ः५० बजेदेखि रोकिने छ ।
काठमाण्डौं तर्फबाट आउने यात्रुबाहक सवारीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुबाहक सवारीसाधनलाई बेनीटारदेखि पावरहाउससम्म बिहान १०ः५५ बजे रोकिने छ । यस्तै काठमाण्डौंतर्फबाट आउने मालवाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोकिने छ ।
बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोड्ने छ । यस्तै पोखरा–काठमाण्डौं सञ्चालन हुने सवारीलाई सहज सञ्चालका लागि ट्राफिक कार्यालयले समन्वय गर्ने छ । निर्माण कार्यलाई तीब्रता दिन निर्माण व्यवसायीले पर्याप्त साधनस्रोत र जनशक्ति परिचालन गर्ने छन् भने सडक खण्डको ठाउँठाउँमा मर्मतको कार्य पनि यसै समयमा गरिने छ ।
नारायणगढ–मुग्लिन सडकखण्डमा २० वटा पुल रहेका छन् । ती मध्ये ५ वटा पुल बनि सकेका छन् भने बाँकी पुल बन्ने चरणमा रहेका छन् । आगामी असारसम्ममा १० पुल निर्माण सक्ने गरी काम अघि बढाइएको नागढुङ्गा मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । विसं २०७६ चैत १० गते ३३ महिनामा पुल सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । यही पुस ९ गते सम्झौताको अवधि सकिँदै छ ।

विश्व बैंकको ऋण सहयोगमा पुल निर्माण गर्न लागिएको हो । असारसम्ममा १३ पुल सम्पन्न गर्ने गरी काम भइरहेको उहाँ बताउनुहुन्छ । तीमध्ये सेतीदोभान, डुम्रे, तोपे, लामो बालुवा र खहरे २ को पुल तीन महिनाभित्रमा सम्पन्न हुने कार्कीको भनाइ छ ।

तुइन र जुगेडी पुललाई थप केही समय लाग्ने उहाँले जानकारी दिनुभयो । सो सडक विस्तारको कामसँगै साँघुरा पुल भएका ठाउँमा नयाँ पुल निर्माण गर्न लागिएको हो । हाल सो सडक नौदेखि ११ मिटर फराकिलो छ । ती पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको छ । प्याकेज–१ मा मुग्लिनबाट यताका खहरे, चिम्पान्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी सात पुल छन् । प्याकेज–२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोल गरी आठ पुल छन् ।

प्याकेज–१ को कूल ठेक्का रकम रु ६७ करोड ९९ लाख छ । दोस्रो प्याकेजको कूल ठेक्का रकम ५९ करोड पाँच लाख छ । बिश्व बैंकको सहयोगमा पुल वनाउन लागिएको हो । दुवै ठेक्काको काम अनक कन्स्ट्रक्सनले गरिरहेको छ । पुलको गाडी हिँड्ने ठाउँ सात दशमलव पाँच मिटर फराकिलो हुनेछ । दुवैपट्टि एक दशमलव पाँच मिटर फराकिला फुटपाथ र २५ सेन्टिमिटर रेलिङका लागि छुट्याइएको छ । पुल वनाउने ठाउँमा ठाडो कडा पहाड काट्नु पर्ने भएकाले सडक वन्द गरेर काम गर्नु परेको कार्की बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !