चितवनः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने कुनै पनि कुरालाई बटमलाईन नभनेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सहमती र समझदारीबाट गर्ने कुरा पार्टीको रहेको बताउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो “समझदारीबाट जिम्मेवारी आयो भने लिने हुन्छ । समझदारीबाट अरुनै हुन पनि सक्छ ।” गठवन्धनको बिचमा यस अघि लिखित औपचारीक रुपमा केही नभएको भन्दै उहाँले थप्नुभयो “गठवन्धन गर्दा आलोपालो गर्ने कुरा भएकै हो अहिले पनि यो समझदारी छ ।”राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख तत्काल टुङ्गाउनु पर्ने भन्दै उहाँले सबैलाई प्याकेजमानै टुङ्गो लगाउने समझदारी भएको बताउनुभयो । गठवन्धन भित्रै बाट प्रधानमन्त्री वन्ने भन्दै उहाँले गठवन्धन वसेर त्यहीबाट टुङ्गोलाग्ने बताउनुभयो । आँफुहरु गठवन्धनमा भएको भन्दै उहाँले गठवन्धन कायम रहने छ भन्नुभयो । उहाँले भन्नुभयो “मैले प्रधानमन्त्रीका निम्ति सबै चिज दाउमा लगाउने काम कहिल्यै पनि गरेको छै ।”
आँफुले गठवन्धनबाट देशको नेतृत्व गर्ने अबसर पाए जिम्मेवारी लिने कुरा मात्रै गरेको बताउनुभयो । उहाँले भन्नुभयो “तपाईहरुले सुने जस्तो गठवन्धन भित्र कुनै कुरा भएको छैन ।” निर्वाचन पछि सबै दलहरुका बिचमा छलफल भने भइरहेको उहाँले बताउनुभयो । पुराना र नयाँ पार्टीहरुका बिचमा छलफल चलिरहेको उहाँले जानकारी दिनुभयो । गठवन्धन, संबिधान निर्माण र निर्वाचन सफल वनाउनका लागि आँफुले धेरै काम गरेको भन्दै उहाँले आफैं प्रधानमन्त्रीको रेसमा कुद्ने काम नगरेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो “जिम्मेवारी आयो भने लिने काम हुन्छ ।”
राष्ट्रपति गैर राजनैतिक व्यक्ति हुने स्थिति नभएको स्पष्ट पार्दै उहाँले भन्नुभयो “केही बुद्धिजिवि व्यक्तिहरुले गैंर राजनैतिक व्यक्ति भयो भने राष्ट्रपति बनाउँदा ठिक हुन्छ भन्ने सुझाब दिएका हुन ।” हामीले गठवन्धन भित्र या राजनैतिक दलहरु कसै संगपनि यो बिषयमा छलफल गरेका छैनौ भन्दै उहाँले त्यो अहिले सम्भव पनि नरहेको बताउनुभयो । पत्रकारहरुले भारतले स्वतन्त्र व्यक्ति राष्ट्रपति वनाउन खोजेको हो ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो “ मलाई थाहा पनि छैन । हो भनेर मैले ठानेको पनि छैन ।”
नेकपा एमाले सहित अन्य दलहरुसंग सबैको कुराकानी भैरहेको भन्दै उहाँले नयाँ बनेका पार्टीहरुसंग पनि छलफल भैरहेको बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसंग दुई तीन पटक कुरा भएको भन्दै उहाँले सिके राउत र रेशम चौधरीसंग पनि भेट गरेको बताउनुभयो । नेकपा एमालेसंग एकताका बिषयमा बाहिर आएको जसरी कुरा नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “औपचारीक र आधिकारीक रुपमा कुरा भएको छैन ।”
सरकारले ल्याएको अध्यादेशको बिषयमा उहाँले यस अघि भएका सम्झौता र सहमतीलाई सम्बोधन मात्र गरेको बताउनुभयो । नेपाल सरकारले बिगत कालमा मधेश केन्द्रित दल, बिप्लब नेतृत्वको नेकपा र थारु कल्याणकारी सभासंग भएको समझदारीलाई सम्बोधन मात्रै गरेको भन्दै यो सामान्य प्रकृया मात्रै भएको बताउनुभयो । अर्को एक प्रश्नमा उहाँले बाहिर प्रचार गरिए जसरी माओवादी केन्द्र कम्जोर नभएको बताउनुभयो । बि. सं. २०७४ को स्थानीय तहको निर्वाचन भन्दा पालिकामा बढि जितेको भन्दै उहाँले प्रदेशमा बिगतकै हाराहारीमा रहेको बताउनुभयो । समानुपातीकमा केही घटेको तर नेकपा एमाले र नेपाली काङ्ग्रेसको तुलनामा कम घटेको बताउनुभयो । संघमा अपेक्षा गरे भन्दा कम आएको भन्दै उहाँले यसको समिक्षा समेत भैरहेको बताउनुभयो । उहाँले भन्नुभयो “यो समिक्षाबाट पार्टीलाई अझ बलियो बनाउन अबसर आएको हामीले ठानेका छौ ।” उहाँले थप्नुभयो “माओवादी केन्द्र एकदमै कम्जोर भयो भन्ने भन्न खोजिएको छ । त्यो सत्य होईन ।”






