चितवनः चितवन राष्ट्रिय निकुञ्ज भित्र पाँच महिनामा ५४ वन्यजन्तु मरेका छन् । साउन यता ती वन्यजन्तु मरेका हुन ।
मरेका वन्यजन्तु मध्ये २७ वटा प्राकृतिक कारणले मरेका छन् भने कुकुरको आक्रमणबाट २१ वटा मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार जुधेर, सडक दुर्घटनामा परेर, विद्युत करेन्ट लागेर, दलदलमा परेर, अन्य कारणले दुई वटा जनावर मरेका छन् । मर्नेमा सबैभन्दा धेरै चित्तल रहेका छन् । पाँच महिनाको अबधिमा ३२ वटा चित्तल मरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।
जस मध्ये प्राकृतिक कारणले १० वटा, कुकुरको आक्रमणमा परी २० वटा, दलदलमा परेर र सडक दुर्घटनामा परी १÷१ वटा चित्तल मरेको तिवारीले जानकारी दिनुभयो । निकुञ्ज क्षेत्र भित्र पाँचवटा गैडा मरेका छन् । ३ वटा प्राकृतिक कारणले मरेका छन् भने जुधेर र करेन्ट लागेर १÷१ वटा गैंडा मरेको उहाँले बताउनुभयो । घडीयाल गोही र गौरीगाई ३÷३ वटा प्राकृतिक कारणले मरेका छन् ।
हात्ती, जरायो, बदेल, कछुवा २÷२ वटा यस पाँच महिनामा मरेको निकुञ्जले जनाएको छ । चितुवा, लगुना र धनेस १÷१ वटा मरेको छन् । यस आर्थिक वर्षमा चोरी शिकारीले वन्यजन्तु मार्न पाएका छैनन् । निकुञ्जको सुरक्षा योजनासँगै समुदायमा आएको सचेतनाका कारण जनावर चोरीशिकारीले मार्न नसकेको उहाँले बताउनुभयो ।






