चितवनः मिटर व्याजबाट पिडित भएका र मिटर व्याज लिएकाहरुको प्रमाण संकलनमा प्रहरी जुटेको छ । सरकारले गत साउन २९ गते देखि भदौ ५ गते सम्मका लागि मिटरव्याज पिडितहरुलाई निवेदन दिन गरेको आग्रह अनुसार जिल्ला प्रशासनमा परेका उजुरी मध्य सहमती नभएका उजुरीको प्रमाण संकलनमा प्रहरी लागेको हो ।
मिटर व्याजीले रकम दिएको र ऋणिले लिएको प्रमाण खोज्ने काम भईरहेको जिल्ला प्रहरी कार्यलय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक बिजयराज पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रशासन कार्यालयबाट सहमती हुन नसकेर १३ वटा उजुरी कारवाहीका लागि प्रहरी कार्यालय आएको छ । ती उजुरीहरु माथि आबश्यक अनुसन्धान भईरहेको उहाँले बताउनुभयो । केही उजुरीको बिषयमा सरकारी वकिल कार्यालय संग राय माग्ने काम भईरहेको उहाँले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत साउन २९ गते देखि भदौ ५ गते सम्म २३ वटा उजुरी परेका थिए । जस मध्ये एउटा उजुरीको सहमती भएको छ भने २ वटा उजुरी छालफलका क्रममा रहेका छन् । अन्य सात उजुरीको बिपक्षि उपस्थित नभएकाले छलफल बाँकी रहेको कार्यालयका नायव सुव्वा बिशाल श्रेष्ठले जानकारी दिनुभयो ।






