चितवनः नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एमाले सरकार गठनको दौडमा नरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले नेकपा एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने बिषय नसोचेको बताउनुभएको छ । उहाँले भन्नुभयो “अहिलेको संसदमा नेकपा एमाले प्रतिपक्षमा रहन्छ ।”
अहिलेको निर्वाचनले कुनै दललाई पनि बहुमत नदिएको भन्दै उहाँले एक दल भन्दा बढि दल मिलेर सरकार बनाउनु पर्ने अबस्था रहेको बताउनुभयो । उहाँले थप्नुभयो “अहिलेको मत परिणामले देश अस्थिरता तर्फ जाने देखिएको छ ।” संसदमा कुनै पनि दलको बहुमत नपुग्दा सरकारले परिणाम दिने गरि काम गर्न नसक्ने उहाँले बताउनुभयो । अहिलेको अबस्थामा सरकार गठन भएपनि बलियो रुपमा काम गर्न नसक्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “सरकार गठन भए पनि टिकाउन मुस्किल पर्ने देखिन्छ ।” देशमा आर्थिक र राजनैतिक संकट देखा परे काङ्ग्रेस र एमाले बिच सहकार्य हुन सक्ने उहाँले बताउनुभयो । उहाँले अहिले सरकार नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार बन्ने बताउनुभयो । उहाँले भन्नुभयो “देउवाको नेतृत्वमा सरकार बन्छ ।”
निर्वाचनमा जनताले पुराना ठूला पार्टीलाई सजग गराउन खोजेको भन्दै उहाँले अब ठूला पुराना पार्टी सच्चिनु पर्ने अबस्था आएको बताउनुभयो । निर्वाचनले माओवादी केन्द्र र नेकपा एकिकृत समाजबादीको अबस्था दयानिय बनेको भन्दै उहाँले एमाले र काङ्ग्रेस पनि सच्चिनु पर्ने बताउनुभयो । नयाँ आएका दलहरुलाई अस्तित्व बचाउन सहज नरहेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “जनता हिजो देखि स्थापित पार्टीको पक्षमा देखिए पनि खवरदारी गरेको पाइयो ।”
तत्काल बाम एकता सम्भव नरहेको उहाँको भनाई छ । कम्युनिष्ट दलहरु बिच तत्काल कार्यगत एकता र बामएकता सम्भव नरहेको बताउँदै उहाँले भविश्यमा हुने कुरालाई नकार्न नसकीने बताउनुभयो । प्रतिनिधि सभा एबं प्रदेश सभाको निर्वाचनमा सबै दलले आफ्नो मत गुमाउन पुगेको भन्दै उहाँले अबको राजनीति सहज नहुने औल्याउनु भयो ।






