चितवनः भरतपुर महानगरपालिकाले खानेपानी महशुल छुटका लागि महानगर भित्र रहेका खानेपानी उपभोक्ता समिति र खानेपानी व्यवस्थापन वोर्डसंग सम्झौता गरेको छ । महानगर प्रमुखमा दोस्रो कार्यकाल निर्वाचित भए संगै प्रमुख रेनु दाहालले सात हजार लिटर सम्म उपभोग गर्ने उपभोक्ताको शुल्क महानगरले वेहोर्ने निर्णय गर्नु भएको थियो । सोही निर्णय कार्यान्वयनमा ल्याउनका लागि आज उपभोक्ता समिति र वोर्डसंग सम्झौता गरिएको हो ।
महानगरपालिका भित्र रहेका १० वटा उपभोक्ता समिति र खानेपानी व्यवस्थापन वोर्डसंग एक कार्यक्रमका बिच सम्झौता गरिएको हो । सम्झौता पत्रमा भरतपुर महानगरपालिकाका तर्फबाट वन, वातावरण तथा विपद व्यवस्थापन महाशाखाका सिनियर डिभिजन इन्जीनियर लक्ष्मी प्रसाद भण्डारी र उपभोक्ता समितिका अध्यक्षहरुले हस्ताक्षर गरेका छन् । महानगर प्रमुख दाहाल, उपप्रमुख चित्रसेन अधिकारीको रोहोबरमा सम्झौता गरिएको हो । सम्झौता संगै महानगरपालिकाले गरेको निर्णय यही मंसिरबाट कार्यान्वयनमा आउने भएको छ ।
सम्झौता कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले आगामी दुई वर्षमा महानगर बासीलाई खानेपानीको समस्या नहुने गरी योजनाहरु अघि बढाईएको बताउनुभयो । उहाँले भन्नुभयो “ठूला आयोजनाहरु निर्माणको चरणमा रहेका छन् । जसले गर्दा केही समयमा महानगरबासीले खानेपानीको समस्या झेल्नु पर्दैन ।” अहिले महानगर भित्र खानेपानी वोर्ड र खानेपानी उपभोक्ता समितिका गरि ४५ हजार २३३ वटा धारा जडानको काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । ४७ हजार ५० धारा जडानको क्रममा रहेको सो अवसरमा जानकारी दिईएको थियो ।
महानगर उपप्रमुख अधिकारीले महानगरका तीन स्थानमा खानेपानी आयोजनाहरु निर्माणको चरणमा रहेको र छिट्टै सम्पन्न हुने बताउनुभयो । दुई बर्ष भित्र महानगरका हरेक घरधुरीमा खानेपानीको धारा जडान सम्पन्न गर्ने गरी कामलाई तिब्रता दिईएको उहाँको भनाई थियो । पहाडी क्षेत्रमा डिपबोरीङ्बाट खानेपानीको समस्या समाधान हुन नसकेको भन्दै उहाँले पहाडी क्षेत्रमा मुहानको पानीको व्यवस्था गर्ने तयारी गरिएको बताउनुभयो । कार्यक्रममा मेघौली खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिबलाल भूर्तेल र खानेपानी व्यवस्थापन वोर्डका कार्यकारी निर्देशक प्रजापती पराजुलीले महानगरको यो कार्य प्रशंसनीय रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !