चितवनः राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप ४ हजार ३९४ निवेदन परेका छन् । गत साउन ३१ गते प्रकाशन गरेको सूचना अनुसार जग्गाको स्वामित्व, दर्ता श्रेस्ता, फिल्डबुक प्रमाणितका लागि उनीहरुले कार्यालयमा निवेदन दिएका हुन ।
आयोगले साउन पहिलो साता निकालेको सूचनाका आधारमा ३२७ जनाको निवेदन परेको भए पनि दोस्रो पटक निकालेको सूचनामा ४ हजार ६७ जनाले निवेदन बुझाएका हुन । आयोगको सूचना अनुसार नेपाल सरकारले गठन गरेको आयोग, कार्यदल र समितिबाट बितरण गरेका जग्गाहरुको स्वामित्व वा दर्ता श्रेस्ता एबं नक्सा प्रमाणित लगाएतका बिषयमा समस्या भएकाहरुले निवेदन दिएको आयोगले जनाएको छ । बिगतका आयोगले, समिति कार्यदलका बाँकी काम सम्पन्न गर्नका लागि आबश्यक प्रमाण सहित उनीहरुले निवेदन दिएको कार्यालयकी नायब सुव्वा कल्पना कुमारी कुँवरले जानकारी दिनुभयो ।
थपिएका निवेदन संगै आयोगको जिल्ला कार्यालयमा ८ हजार ५२६ जनाको निवेदन परेको उहाँले जानकारी दिनुभयो । आयोगको सुरुवाती समयमा ४ हजार १३२ वटा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको निवेदन परेको थियो ।
जस मध्ये अहिले सम्म १७९ जनाले जग्गा धनि प्रमाण पूर्जा पाई सकेका छन् भने अन्यको प्रकृयामा रहेको उहाँले बताउनुभयो । आयोगले अहिले जिल्लाका कालिका नगरपालिका, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा कामलाई तिब्रता दिएको छ । यस अन्तर्गत माडी नगरपालिकामा ९ सय कित्ताको नाप नक्सा भईसकेको छ भने कालिका नगरपालिकामा ३ हजार ९९४ कित्ता अर्थात १३ लाख ८१ हजार ६१६ दशमलब ९ बर्ग मिटरको नाप नक्साको काम सकिएको छ ।
भरतपुर महानगरपालिकामा १७ लाख ७३ हजार ५२९ दशमलब ८६६ बर्ग मिटर जग्गाको नाप नक्सा सकिएको कुँवरले बताउनुभयो । अहिले इच्छाकामना र रत्ननगरमा सम्झौताको काम भईरहेको कार्यालयले जनाएको छ । अन्य पालिकामा स्थलगत कामहरु भईरहेको छ ।






