चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १७ गाँजीपुरका ८२ वर्षिय नान्जेल तामाङ्को बर्षातका धेरै दिन अनिधोमानै बित्ने गर्दछ । घर नजिकै नारायणी नदी सुसाए संगै बगाउँछ की भन्ने डरले रातको समयमा बाहिर आएर हेर्दैमा रात बित्ने गर्दछ । धेरै पटक केटाकेटी बोकेर छिमेकीकोमा आश्रय लिएको पिडा उहाँ संग ताजै छ ।
लम्जुङ्को फुलिङ्गिरीबाट बसाई सरेर धेरै पहिला त्यहाँ आएको नान्जेलको परिवार संगै धेरैको पिडा उहीनै छ । भरतपुर महानगरपालिका वडा नम्बर १६ भगेरी थानका रमेश राई नदी तटवन्धन हुने सुनेपछि निकै खुशी हुनुहुन्छ । उहाँले भन्नुभयो “अब जिउ धन जोगिने भयो ।”नारायणी नदीको तटिय क्षेत्रमा बसोबास गर्नेहरुको निकै पिडादायीक जीवन जिउनु पर्ने बाध्यता रहेको छ । हरेक वर्ष जसो ठाउँठाउँबाट नदी गाउँमा पसेर जनधनको ठूलो क्षती हुने गरेको छ ।
त्यसै क्षेत्रबाट बिस्थापित भएर धेरै अहिले सुकुम्बासीको रुपमा जिउन बाध्य छन् । बिगत १० वर्ष देखि तटवन्धनको काम थालिएको भए पनि बजेटको अभावमा न्यून काम मात्र भएको छ । यस वर्ष भने प्रयाप्त वजेटको निकासा संगै पाँच खण्डमा बिभाजन गरेर तटवन्धनको काम थालिएको छ ।

गत असार अघि नै बोलपत्र आह्वान भई सम्झौता भएका तीन खण्ड र त्यस पछि बोलपत्र आह्वान भई सम्झौता भएको एउटा खण्ड गरि चार खण्डको काम थालिएको छ। अन्य एक खण्डमा छिट्टै काम थालनी गरिँदै छ । नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर शङ्कर बुढाथोकीका अनुसार चारवटा खण्डको सम्झौता भई सकेको छ भने एक खण्ड सम्झौताको चरणमा रहेको छ ।
असार अघि नारायणी नदीको महानगरतर्फ सिसइदेखि भगडीसम्मको तटबन्धनका लागि रु ३८ करोडमा ठेक्का सम्झौता भएको हो। त्यसैबेलाको अर्काे एक खण्ड गाँजीपुरदेखि हीरापुरसम्मको रु ४८ करोडमा ठेक्का सम्झौता भएको छ। तेस्रो रामघाटदेखि काभ्रेघाटसम्मको रु एक अर्ब १५ करोडमा ठेक्का सम्झौता भइसकेको छ। चौथो खण्ड रु २६ करोडमा ठेक्का सम्झौता भएकोछ । यो बालुवा देखि गोलाघाट सम्मको ६ दशमलब ८ किलोमिट तटवन्धको पनि सम्झौता भई कामको प्रकृया सुरु गरिएको छ । उहाँका अनुसार एउटा खण्ड बाहेक सबैको कामको प्रकृया सुरु भएको हो ।

सम्झौता भइसकेका तीन खण्ड ५ किलोमिटर लम्बाइका दरले रहेका छन्। गत कात्तिकमा सम्झौता भएको बालुवादेखि गोलाघाट सम्मको ६ दशमलब ८ किलोमिटर मध्ये २.५ किलोमिटर नयाँ तटबन्ध र अन्य मर्मतसम्हार रहेको छ । नारायणी नदी नारायणगढस्थित पुलबाट पूर्वतर्फको सिविच बोलपत्र आह्वान भई मूल्याङ्कनको चरणमा रहेको छ। नारायणी किनारको जङ्गलको क्षेत्रबाहेकका सबै ठाउँमा तटबन्धनका लागि ठेक्का लगाइएको हो।

आर्थिक वर्ष २०६६÷०६७ बाट निरन्तर काम भइरहे पनि हालसम्म रु एक अर्ब ८३ करोड मात्र विनियोजन हुँदा काम प्रभावकारी हुन सकेको थिएन। चितवनतर्फ ३५ किलोमिटर र नवलपरासीतर्फ ५७ किलोमिटर तटबन्ध र स्पर निर्माण गरिने छ।
चितवनका लागि रु नौ अर्ब ५५ करोड र नवलपरासीका लागि रु १४ अर्ब ४३ करोड खर्च लाग्ने प्रस्तावित लागत रहेको छ। हालसम्म चितवनतर्फ १५ किलोमिटर र नवलपरासीतर्फ ११ किलोमिटर तटबन्ध गरी सकिएको छ। गुरुयोजनाअनुसार नदी तटबन्ध गरिँदै गर्दा एक लाख ९८ हजार छ जना प्रत्यक्षरुपबाट लाभान्वित हुने छन्। चौध हजार १९ हेक्टर जमिन डुबानबाट बच्ने छ भने कम्तीमा ८० हेक्टर जमिन संरक्षण गरी उपयोगमा ल्याउन सकिने आयोजनाका प्रमुख गणेश मरासिनिले बताउनुभयो ।
सबै क्षेत्र ठेक्का लागेपछि निर्माणको प्रकृया सुरु हुँदै गर्दा भरतपुर महानगरपालिकाको संयोजनमा आज स्थलगत निरिक्षण एबं छलफल गरिएको छ । आयोजनाका कर्मचारी, निर्माण व्यवसायीका प्रतिनिधि, स्थानिय र सरोकारवालाहरुको रोहोबरमा महानगरपालिकाले छलफल गरेको हो । नदी तटिय बिभिन्न क्षेत्रमा गरिएको छलफलमा महानगर प्रमुख रेनु दाहालले निकै मेहनतका साथ परियोजना परेको भन्दै निर्धारित समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीका प्रतिनिधिहरुलाई निर्देशन दिनुभयो । स्थानियलाई उहाँले भन्नुभयो “अब बाढिका कारण तपाईहरुले दुःख पाउने दिन हटेर जाँदै छ ।” चारवटा खण्ड दुई वर्षमा र एउटा खण्ड तीन वर्षमा सम्पन्न हुने भन्दै उहाँले आँफुले अघिल्लो कार्यकालको सुरुवाती चरणबाट थालेको कामले गति लिएको बताउनुभयो ।
उपप्रमुख चित्रसेन अधिकारीले कुनै समस्या परेमा संगसंगै महानगर रहेको भन्दै निर्धारित समयमा गुणस्तरीय काम गर्न आग्रह गर्नुभयो । आयोजनाका प्रमुख मरासिनिले एकै साथ नारायणीको अधिकांश भूभाग तटवन्धन हुने गरि महत्वपूर्ण आयोजना अघि वढेको भन्दै सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो । पाँच मध्ये दुईवटा खण्डको जिम्मा पाएको भन्दै निर्माण व्यवसायी महासंघका सदस्य समेत रहनु भएका होमकुमार आचार्यले निर्धारित समयमा काम सम्पन्न गर्ने बताउनुभयो । सो अवसरमा सहभागी भएका स्थानियले यथासिघ्र काम अघि बढाईदिन प्रमुख दाहाल संग आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !