चितवनः परम्परागत रुपमा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जंगल सफारी बाहेकका पर्यटकीय गतिविधि थप गर्न नसक्दा यहाँको पर्यटन व्यवसाय सुस्ताउँदै गएको छ । एक पटक सफारी गरेकाहरु दोस्रो पटक आउँदा नयाँपन दिन सक्ने गरी गन्तव्य पहिचान गर्न नसक्दा यहाँको पर्यटन व्यवसाय उठ्न नसकेको हो ।
राप्ती नदी किनारमा ठूला होटलहरु खुलेपनि पर्यटक भित्र्याउनका लागि कुनै योजना नहुँदा दिनानुदिन यहाँको पर्यटन व्यवसाय खस्कँदो अवस्थामा पुगेको छ । अस्वस्थ प्रतिस्पर्धा, प्रचारप्रसारको कमी, पर्यटन पूर्वाधारमा लगानी नहुनु, स्थानीय तहसँगको कमजोर समन्वय, महंगो शुल्क, कमजोर आतिथ्यता लगायतका कारण पर्यटक आकर्षित गर्न नसकिएको हो । यससँगै चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका ठूला होटल बन्द भएपछि अन्तर्राष्ट्रिय जगतमा यहाँको प्रचार हुन नसक्दा पनि पर्यटन आगमनमा प्रभाव परेको हो ।
तेस्रो पर्यटकीय गन्तव्य भनिए पनि काठमाण्डौं, पोखरा, लुम्बिनी, हिमाली गन्तव्यहरुको तुलनामा निकै न्यून मात्रै पर्यटक यहाँ आउने गरेको तथ्यांकले देखाएको छ । विषेश गरी चितवन राष्ट्रिय निकुञ्ज, सौराहा, पटिहानी र मघौली गोलाघाटमा पर्यटकहरु आउने गर्दछन् । राजधानी काठमाण्डौंबाट पोखराभन्दा नजिकको दूरीमा रहेको चितवनमा पर्यटकहरु खासैं आर्कषित बनेको पाइदैन । जंगल सफारीमा आधारित पर्यटकहरुको रोजाई चितवन परेको छ । चितवन राष्ट्रिय निकुञ्ज र त्यस वरपरका मध्यवर्ती क्षेत्रमा हात्ती सफारी, जीप सफारीका माध्यमबाट विश्वकै दुर्लभ एकसिंगे गैंडा, बाघ, जरायो मृग, चित्तल, कालिज, मयुर लगायत वन्यजन्तु, चराचुरुङ्गी, सरिसृप, जलचर हेर्नका लागि पर्यटकहरु यहाँ आउने गरेका छन् ।पर्यटन विज्ञ डा. विश्व सुवेदी संगठित रुपमा पर्यटन प्रबद्र्धनका लागि काम गर्न नसकिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “यहाँका सरोकारवालाहरु संगठित भएर क्यापियन गर्न सकिएन ।” एक आपसमा समन्वय नभएको भन्दै उहाँले स्थानीय पालिकाहरुले पर्यटनलाई प्राथमिकतामा राखेर कामै नगरेको बताउनुहुन्छ ।
पर्यटन गतिविधि परम्परागत मात्रै भएको, नयाँ पर्यटकीय क्रियाशल्प हुन नसकेको भन्दै उहाँले कुनै प्याकेज नहुँदा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो “पर्यटनमा विविधिकरण गर्नुप¥यो ।” जिल्लाका पहाडी भेगमा ट्रेकिङ, धार्मिक क्षेत्रको प्रबद्र्धन, जल पर्यटनलाई समावेश गरी प्याकेज बनाएर व्यापक प्रचारप्रसार गर्नुपर्ने उहाँको भनाई छ । होटल व्यवसायीहरुले कोठा र भात बेच्ने काम मात्रै गरेको सुवेदी बताउनुहुन्छ ।
पहिलेदेखि सञ्चालन हुँदै आएका होटल व्यवसायीको बैकिङ ऋण नहुँदा ठूलो कारोबारको अपेक्षा छैन भने नयाँ डुब्ने अवस्थामा पुगेका छन् । कहि कतैबाट सुनुवाई हुन सकेको छैन । व्यवसायी आफूले केही गर्न सकेका छैनन् । क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष सुमन घिमिरे पर्यटकका लागि विविधता दिन नसकेको स्वीकार्नुहुन्छ । जंगलसँग केन्द्रीत बाहेक अन्य गतिविधि दिन नसक्दा व्यवसाय उठ्न नसकेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो “एक पटक हात्ती चढेको पर्यटकलाई अर्काे पटक आउँदा अरु गतिविधि दिन नसक्दा पर्यटकको संख्या बढ्न सकेन ।” निजी र सरकारी दुवैले केही गर्न नसकेको स्वीकार्दै उहाँले समयमै सोच्न नसकेमा यहाँको पर्यटन व्यवसाय उठ्न नसक्ने बताउनुभयो । आउने पर्यटकका लागि फरक गन्तव्यहरुको पहिचान गरी प्याकेज तयार गर्नुपर्नेमा उहाँको जोड छ ।
निकुञ्जभित्र सफारी शुल्क बढी हुँदा र दैनिक टिकट काट्नु पर्दा यहाँ आउने पर्यटकका लागि खर्चिलो बनेको छ । निकुञ्जभित्र होटल हुँदा धेरै खर्च गर्ने पर्यटक यहाँ आउने गर्दथे । जसको लाभ बाहिरका होटलले पनि लिने गरेका थिए । यी होटल बन्द भएसँगै खर्चिला पर्यटकहरु श्रीलंका, केन्या, भारत जस्ता देशहरु जान थालेका छन् । कुनै बेला निकुञ्जभित्रका होटल हटाउन जोड गर्ने बाहिरका होटल व्यवसायी अहिले पछुतो मानिरहेको अवस्था छ ।
पटिहानीको होटल जंगल भिल्लाका सञ्चालक गणेश पौडेल नयाँ कार्यक्रमहरु दिन नसक्दा पर्यटन व्यवसाय उठ्न नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “नयाँ गन्तव्यको पहिचान गरी प्याकेज बनाएर प्रचार गर्नुपर्छ ।” जिल्लाको भरतपुर महानगर क्षेत्रमा ठूला होटल बनेसँगै खर्चिला पर्यटक पटिहानी, मेघौली, जगतपुर लगायतका पश्चिम चितवनका होटलमा आउने गरेका छन् । समयमै ध्यान दिएर प्रचारप्रसारमा लाग्न नसके यहाँको पर्यटन उठ्न नसक्ने पौडेलको भनाई छ ।
क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराई सरकारको सहयोगको अभावमा पर्यटन प्रबद्र्धन गर्न नसकिएको बताउनुहुन्छ । स्थानीय निकायहरुबाट सहयोग हुन नसकेको भन्दै उहाँले संघीय सरकारले सम्बोधन गर्ने गरी कुनै काम नभएको बताउनुभयो । निकुञ्ज प्रवेश शुल्क अत्याधिक महंगो हुँदा होटलहरुले गर्ने सामान्य छुटले खाशै प्रभाव पार्न नसकेको उहाँ बताउनुहुन्छ । सरकार र निजी क्षेत्र संयुक्त रुपमा नलागेसम्म प्रबद्र्धन प्रबद्र्धन गर्न नसकिने उहाँको भनाई छ । उहाँले भन्नुभयो “नयाँ प्रडक्ट दिन नसक्दा सोचे जस्तो पर्यटक भित्र्याउन सकिएन ।”






