चितवनः वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर देख्न र सुन्नमा जति सुन्दर छ त्यहाँ उपचार गर्न आउने बिरामीले पाउने दुःख र सास्ती त्यति नै छ । पर्याप्त भौतिक पूर्वाधार र जनशक्ति हुँदा हुँदै पनि बिरामीले चिकित्सक भेट्न मुस्किल हुने गरेको गुनासो बिरामी गर्छन् । अस्पताल परिसरमै चिकित्सक र कर्मचारीका लागि आवासको व्यवस्था छ । सम्भवतः नेपालमै सरकारी तहमा सबैभन्दा बढी सेवा र सुविधा यहीका चिकित्सक कर्मचारीले पाउँछन् ।
त्यही आएका बिरामी ल्याएर उपचार गर्ने गरी अधिकांश चिकित्सकको निजी अस्पताल र क्लिनिक छन् । बिरामी र तिनका आफन्त निजीमा जान प्रेरित गर्ने उद्देश्यले अस्पतालमा कम भेट हुने, शल्यक्रियाका लागि लामो समयपछि मात्रै पालो आउने गरेको गुनासो बिरामीहरु गर्छन् । चिकित्सक मात्रै होइन, कर्मचारीहरु पनि हाजिर गरेर हिँड्ने गरेको सेवाग्राहीको गुनासो छ ।
रोल्पाको थवाङ्बाट उपचारका लागि विगत एक साता अघि चितवन आउनु भएका मालबहादुर डाँगी पाँच दिनदेखि अस्पतालमा भौतारिईरहनु भएको छ । अझै चिकित्सक भेट्न सक्नु भएको छैन ।
विगत एक महिना अघि परीक्षणका लागि दिएको नमुनाको रिपोट देखाउनका लागि उहाँ अहिले चिकित्सकको पखाईमा हुनुहुन्छ । मंगलबार दिउँसो अस्पताल परिसरमा पुग्दा सँगै डाँगीले अस्पतालको प्रशासनका कर्मचारीलाई गुनासो गर्नुभयो “सर हाम्रो रिपोट कहिले देखाउन पाउँछौ ।” अस्पताल प्रशासनका कर्मचारीहरुले जवाफ दिए “भोली” । “आज चिकित्सक शल्यक्रियामा व्यस्त हुनुहुन्छ त्यही भएर” ती कर्मचारीले थपे । आफ्नो पीडा सहेर उहाँ फेरी भोलीको आशामा फर्कनु भयो ।
डाँगी उपचारका लागि दुई महिनामा तीन पटकसम्म अस्पताल आएको बताउनुहुन्छ । उहाँले थप्नुभयो “चिकित्सक कुरेर बस्नु पर्ने बाध्यता भयो ।” उहाँको पेटमा समस्या भएका कारण चेकजाँचका लागि आउनु भएको हो । “खाएको कुरा केही अडिदैंन । मुखबाटै फर्कन्छ । यस्तो अवस्थामा चिकित्सक कुर्नु परेको छ ।” उहाँले थप्नुभयो ।
यस्तै पीडामा पाल्पाबाट आउनु भएकी भिमकुमारी थापाको पनि छ । उहाँ रेडियो थेरापीको लागि आउनु भएको हो । “आज पालो भनेर आएको हुने हो की होईन थाहा छैन ।” उहाँले भन्नुभयो । उहाँलाई लिएर सँगै रहनुभएकी बसन्ती थापाले भन्नुभयो “अब एक महिना औषधि चलाएर मात्रै गर्ने रे ।”
अस्पताल आएका बिरामी र उनका आफन्त चिकित्सकको खोजि र उपचारका लागि दिईएको समयको पर्खाइमा बस्दै गरेका छन् । तनहुँको दुलेगौडाबाट उपचारका लागि आउनु भएकी इन्द्रकला लम्साल बहिरंग बिभागमा आएर चिकित्सक कुर्दै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो “चिकित्सक आउनु हुन्छ भनेका छन् । कति खेर भेट्न पाईन्छ पत्तो छैन ।” नियमित चेकजाँचका क्रममा आउनु भएकी लम्साल विगत एक सातादेखि क्यान्सर अस्पतामा हुनुहुन्छ । उहाँले बिभिन्न किसिमको परीक्षणका लागि दिएको नामुनाको रिपोट देखाउँदै भन्नुभयो “अब यो देखाएर त घर जान पाइन्छ की भन्ने आश छ, तर डाक्टर भेट्न पाईन्छ पाईदैन निश्चित छैन ।” चिकित्सक नभेटिएपछि त्यहाँ भेटिएका सहयोगीले चिकित्सक भेट्ने वैकल्पिक उपाय स्वरुप निजी अस्पताल देखाउने गरेको बिरामीका आफन्तको गुनासो छ ।
यी उदाहरणीय पात्र हुन् । अस्पतालमा आएका बिरामीले बिशेषज्ञ चिकित्सक समेत भेट्न कठिन हुने गरेको छ । चिकित्सक भेट्नका लागि वहिरंग बिभागमा आएका बिरामीहरुलाई त्यहाँका कर्मचारीको छुद्र बोलीका कारण पीडित हुने गरेको गुनासो गर्छन् । बिशेषज्ञ चिकित्सकहरु हाँजिर गरेर आफ्नो बहिरंग सेवामा नबस्ने गरेको उनीहरुको गुनासो छ । उनीहरु हाँजिर गरेर न बहिरंग सेवामा हुन्छन न त शल्यक्रिया कक्षमा नै हुन्छन । एनेस्थेसिया र सर्जनका कारण बिरामीले लामो समय शल्यक्रियाको पालो कुर्नु परेको उनीहरु बताउँछन् । एनेस्थेसीयाले दिउँसो १ बजेपछि काम नगर्दा समस्या बढ्दै गएको अस्पताल प्रशासन स्रोतले जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतम आफूले चिकित्सक कर्मचारीले काम गरिरहेको मान्यता राख्ने बताउनुभयो । गुनासोको विषयमा आफूले बुझ्ने भन्दै उहाँ कार्यालय समयमा काम नगर्ने चिकित्सक कर्मचारीलाई कारवाही गरिने बताउनुहुन्छ ।
अस्पतालमा हाल एक सय जना बिशेषज्ञ चिकित्सक कार्यरत रहेका छन् । विगत केही वर्ष अघि अस्पताल खस्केर अस्तव्यस्त भएपछि तत्कालिन प्रमुख जिल्ला अधिकारी हालका गृहसचिव बिनोदप्रकश सिंहको नेतृत्वमा अस्पताल सुधार्ने अभियानका रुपमा काम थालिएको थियो । त्यसको प्रभाव केही वर्ष परेको अस्पतालका कर्मचारी बताउँछन् । पछिल्लो पुनः अस्पताल अस्तव्यस्त बनेको उनीहरुको गुनासो छ ।





