चितवनः ईच्छाकामना गाउँपालिका वडा नं. १ डिङ्लाङका चन्द्रबहादुर चेपाङका छोराछोरी अहिले पनि मट्टीतेलको टुकी बालेर पढ्न बाध्य छन् । यो परिवार मात्रै होइन सदरमुकाम भरतपुरसँग जोडेर बनेको चितवन क्षेत्र नं. २ मा पर्ने ईच्छाकामना र कालिका नगरपालिकाका पहाडी भेगका कतिपय गाउँमा अहिले पनि टुकीकै भर छ ।

प्रविधिलाई उच्चतम प्रयोग गरी सामाजिक सञ्जालबाटै लोकप्रियता कायम गरेर सर्वाधिक मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने यही क्षेत्रबाट निर्वाचित हुनुभयो । उहाँकै क्षेत्रमा पर्ने पहाडी मतदाताहरु भने आफूले प्रयोग गर्ने सामान्य मोबाईल चार्जका लागि गाउँछिमेकमा रहेको सोलार खोज्न बाध्य छन् ।

ईच्छाकामना गाउँपालिकाको वडा नं. १ र २ का धेरैजसो भूभागमा विद्युत पुगेको छैन । वडा नं. ३, ४, ५ र ६ का केही भागमा समेत विद्युत पुग्न सकेको छैन । वडा नं. १ को छाप्राङ, भाराङ, ज्यान्दाला लगायतका ठाउँका वासिन्दा टुकीको भरमा छन् । वडा नं. २ का डुम्किन, भोटेगाउँ, हपनी, माथिल्लो काउले जस्ता भागमा विजुली पुगेको छैन ।

कालिका नगरपालिकाको वडा नं. ९, १० र ११ का धेरै भागमा विद्युत पुग्न बाँकी छ । वडा नं. ८ को बुङ्गखोला क्षेत्रमा पनि विजुली पुगेको छैन । भरतपुर महानगरपालिका वडा नं. २९ का केही घरमा अझै बिजुली पुगेको छैन ।

ईच्छाकामना गाउँपालिकामा नेपाल विद्युत प्राधिकरणको सामुदायिक विभागले बि.सं. २०७५ साल कात्तिक १२ गते बोलपत्र आव्हान गरी काम लगाएको भए पनि ठेकेदारले काम नगर्दा परियोजना अलपत्र छ । विभागका निर्देशक बिक्रम अमात्य दुई वर्षको मिति सक्किएपछि जनमुखी कन्स्ट्रक्सन–बागमती कङ्क्रिट जेभीलाई कारवाही प्रक्रिया अगाडि बढाएकोमा अदालत पुगेका कारण काम रोकिएको बताउनुहुन्छ ।

अदालतको फैसला कुर्नु परेकाले काम हुन नसकेको उहाँको भनाई छ । रु.५ करोड ७ लाखमा ठेक्का सकारेको यो कम्पनीले १२० थान पोल झार्ने बाहेक केही काम नगरेपछि ठेक्का रद्द गरिएको छ । पत्र बुझ्नु अघि नै अदालत गएपछि काम रोकिएको अमात्य बताउनुहुन्छ ।

स्थानीयहरु पहल कदमी नभएका कारण कामले पूर्णता पाउन नसकेको गुनासो गर्छन् । अमात्य अब मंसिर २० गते पेशी रहेकाले यसपछि विकल्पको खोजी गरिने बताउनुहुन्छ ।

कालिका नगरपालिकामा विद्युतीकरणका लागि रत्ननगर वितरण केन्द्रले काम गरिरहेको छ । इञ्जिनियर बिक्रम श्रेष्ठ मजदुरका लागि ठेकेदार कम्पनीलाई जिम्मा दिईएको भए पनि प्राधिकरणले सामान दिन नसक्दा समस्या भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “हामीसँग पोल र तार नहुँदा काम रोकिएको हो ।” केन्द्रबाट सामान आएपछि विद्युतीकरण हुने उहाँको भनाई छ ।

ग्रामीण क्षेत्रमा विद्युतीकरणका लागि सरकारी निकायबाट पहल कदमी हुन नसकेको त्यस क्षेत्रका वासिन्दा गुनासो गर्छन् । चितवन क्षेत्र नं. २ का नवनिर्वाचित सांसद रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले आजै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर यहाँको समस्याको बारेमा जानकारी गराउने र समाधानको बाटो खोजिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !