चितवनः दोस्रो संविधान सभा निर्वाचनमा देशैभरमा सबैभन्दा सुरक्षित ठाउँ मानेर तत्कालिन नेपाली कांग्रेसका सभापति सुशील कोईराला चितवनको तत्कालिन क्षेत्र नं. ४ बाट उम्मेदवार बन्नु भयो । भारी मतले उहाँ विजयी हुनुभयो । उहाँले छाडेर उपनिर्वाचन हुँदा कांग्रेसका रामकृष्ण घिमिरेले पनि भारी मतले विजयी हुनुभयो ।

हालको क्षेत्र नं. ३ सोही क्षेत्र पर्दछ । विगत नौ वर्षमा सो क्षेत्रमा कांग्रेसको प्रभात निरन्तर ओरालो लाग्यो । यही मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक तर्फको मत परिणाम अनुसार कांग्रेस सो क्षेत्रमा पाँचौं हुन पुगेको छ । चितवन ३ मा समानुपातिका ९४ हजार २८० मत सदर हुँदा हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले २८ हजार ४०१ मत प्राप्त गरेर पहिलो बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १६ हजार ७५५ मत प्राप्त गरी दोस्रो बनेको छ भने नेकपा माओवादी केन्द्रले १६ हजार ८९ प्राप्त गरी तेस्रो भएको छ । नेकपा एमालेले १४ हजार ५२२ मत प्राप्त गरेर चौथो र नेपाली काङ्ग्रेसले १० हजार ५२१ मत प्राप्त गरी पाँचौं स्थानमा पुगेको छ ।

सो क्षेत्रमा नेपाली कांग्रेसले झण्डै ४० हजार र नेकपा एमालेले ३० हजार हाराहारी मत भएको दावी गर्दै आएका थिए । समग्र जिल्लामा पहिलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी बन्न सफल भएको छ । समानुपातिक मत परिणाम अनुसार एमाले दोस्रो र काङ्ग्रेस तेस्रो भएका हुन् । जिल्लामा कुल खसेको समानुपातिक मतको ३६ प्रतिशत मत पाएर स्वतन्त्र पार्टी पहिलो पार्टी बनेको हो । समानुपातिकमा एमालेले २० प्रतिशत, कांग्रेसले १४ प्रतिशत, माओवादीले केन्द्रले ११ प्रतिशत, राप्रपाले ९ प्रतिशत र नेकपा एकीकृत समाजवादीले २ प्रतिशत मत पाएका छन् । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ९९ हजार ३७ मत पाउँदा नेकपा एमालेले ५५ हजार ३१२, नेपाली काङ्ग्रेसले ३९ हजार १३०, माओवादी केन्द्र्रले २९ हजार ४६१, राप्रपाले २५ हजार ५५ र नेकपा एकीकृत समाजवादीले ४ हजार ९०६ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर १ मा ९५ हजार ३९९ मतमा स्वतन्त्र पार्टीले ३४ हजार ६९१ मत प्राप्त गरेको छ । नेकपा एमालेले २४ हजार ६, नेपाली काङ्ग्रेसले १६ हजार ६९५, नेकपा माओवादी केन्द्रले ४ हजार ९६५, राप्रपाले ५ हजार ८२ र नेकपा एकीकृत समाजवादीले ३ हजार ५१८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी नविनराज रुवालीले जनाकारी दिनुभयो । चितवन क्षेत्र नं. २ मा ८२ हजार ९३४ मत मध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ३५ हजार ९४५ मत पाएको छ । नेकपा एमालेले १६ हजार ७८४ मत पाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली काङ्ग्रेसले ११ हजार ९१४, नेकपा माओवादी केन्द्रले ८ हजार ४०७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार २१८ र नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादीले ६१६ मत पाएको छ ।

जिल्लामा पुराना एवं ठूला पार्टीहरुले नयाँ र साना दलसँग प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ जीत निकाल्न नसके पनि समानुपातिकमा समेत यसको प्रभाव देखिएको छ । प्रत्यक्षमा दुई क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टी र एक क्षेत्र राप्रपाले जितेका छन् । प्रदेश सभामा नेकपा एमालेले दुई र नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपाले एक एक क्षेत्र जितेका छन् । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले केन्द्र र जिल्ला तहमा गठबन्धन गरिए पनि मतदाताले अस्वीकार गर्दा पार्टीले मत कम पाएको बताउनुभयो । जिल्लामा रुष्ट बनेका दलका कार्यकर्ताहरुले फरक उम्मेदवारलाई मतदान गरेपछि पहिले पहिले निर्वाचन जितेका दलहरु अहिले निकै कमजोर देखिएका हुन् ।

प्रतिक्रिया दिनुहोस !