चितवनः देशका ७६ जिल्लाका मानिसहरुको बसोबास रहेको चितवनका मतदातालाई पुराना दलहरुले आश्वस्त पार्न नसक्दा ‘विद्रोह’ गरेका छन् । पुराना दलहरुलाई सच्चिने अवसर दिंदै दल नछोडे पनि मतदान भने नयाँ दललाई दिएका हुन् । यति हुँदाहुँदै पनि जिल्लाका तीन संघीय र ६ प्रदेशमा ६ दलको प्रतिनिधित्व हुने गरी निर्वाचित गराएका छन् ।

चितवन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल, १(१) मा नेकपा (एमाले) का जगन्नाथ थपलिया, १(२) मा नेकपा (एकीकृत समाजवादी) का कृष्णप्रसाद खनाल, क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, २(१) मा नेकपा (एमाले) का कृष्णप्रसाद सिलवाल, २(२) मा नेपाली कांग्रेसका उत्तम जोशी, क्षेत्र नं. ३ मा राप्रपाका बिक्रम पाण्डे, ३(१) मा राप्रपाकै गिरबहादुर तामाङ र ३(२) मा माओवादीका ठाकुरप्रसाद ढकाल विजयी हुनु भएको छ ।

दलहरुले अपेक्षा गरेभन्दा फरक ढंगले उम्मेदवारहरुलाई जिताएका छन् । जिल्लाको विगतको इतिहास फरक छ । कुनै समय नेपाली कांग्रेस, कुनै समय नेकपा (एमाले) र कुनै बेला माओवादी केन्द्रलाई मतदाताले रुचाएको देखिन्छ । बि.सं. २०३८ सालमा सन्तकुमार चौधरी र बगानसिंह गुरुङ जनमत संग्रहमा निर्वाचित हुनु भएको थियो । उहाँहरु दुवै पञ्चायती पक्षबाट उम्मेदवार हुनुहुन्थ्यो । बि.सं. २०३४ सालको राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा जनपक्षीय उम्मेदवार जागृतप्रसाद भेटवाल र भीमबहादुर श्रेष्ठले विजय हासिल गरेको इतिहास छ ।

बि.सं. २०४८ सालको आम निर्वाचनमा जिल्लामा तीन क्षेत्र रहेकोमा तीनै क्षेत्रमा वामपन्थीहरुले जितेका छन् । क्षेत्र नं. १ मा नेकपा (एमाले) का जागृतप्रसाद भेटवाल, क्षेत्र नं. २ मा नेकपा (प्रजातन्त्रवादी) का भीमबहादुर श्रेष्ठ र संयुक्त जनमोर्चाका अमिक शेरचनले विजय हासिल गर्नुभएको थियो । बि.सं. २०५१ सालमा भएको मध्यावती निर्वाचनमा जिल्लामा चार क्षेत्र बन्यो । क्षेत्र नं. १ मा नेकपा (एमाले) का जागृतप्रसाद भेटवाल, क्षेत्र नं. २ मा एमालेकै काशिनाथ अधिकारी, क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका गंगाधर लम्साल र क्षेत्र नं. ४ नेपाली कांग्रेसका तीर्थ भुषाल विजयी हुनुभयो ।

बि.सं. २०५६ को आम निर्वाचनमा चारै क्षेत्र नेपाली कांग्रेसले विजय हासिल ग¥यो । क्षेत्र नं. १ मा सावित्री बोगटी, क्षेत्र नं. २ मा एकनाथ रानाभाट, क्षेत्र नं. ३ मा गंगाधर लम्साल र क्षेत्र नं. ४ मा नारायण शर्मा विजयी हुनुभयो । निर्वाचन आयोगको विवरण अनुसार बि.सं. २०६४ को पहिलो संविधान सभा निर्वाचनमा जिल्लालाई पाँच क्षेत्रमा विभाजन गरियो । जसमा पाँचै क्षेत्रमा वामपन्थीहरुको जित भयो । क्षेत्र नं. १ मा नेकपा (एमाले) का लालमणि चौधरी, क्षेत्र नं. २ मा माओवादीका रामबहादुर थापा बादल, क्षेत्र नं. ३ मा माओवादीकै नारायण दाहाल, क्षेत्र नं. ४ मा माओवादीकै चित्रबहादुर श्रेष्ठ र क्षेत्र नं. ५ मा जनमोर्चा नेपालका अमिक शेरचन निर्वाचित हुनुभयो ।
बि.सं. २०७० को दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नं. १ मा नेकपा (एमाले) का सुरेन्द्र पाण्डे, क्षेत्र नं. २ मा नेपाली कांग्रेसका शेषनाथ अधिकारी, क्षेत्र नं. ३ मा नेकपा एमालेका कृष्णभक्त पोखरेल, क्षेत्र नं. ४ मा शुरुमा नेपाली कांग्रेसका सुशिल कोइराला र उपनिर्वाचनमा रामकृष्ण घिमिरे एवं क्षेत्र नं. ५ मा राप्रपाका बिक्रम पाण्डे विजयी हुनुभयो । बि.सं. २०७४ को आम निर्वाचनमा तीन क्षेत्रमा चितवन विभाजन भयो । जसमा क्षेत्र नं. १ मा नेकपा एमालेका सुरेन्द्र पाण्डे, क्षेत्र नं. २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेल र क्षेत्र नं. ३ मा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित हुनुभयो । नेकपा एमाले र माओवादीको गठबन्धनका कारण प्रदेशका ६ वटै क्षेत्र ती दुई दलका उम्मेदवार विजयी हुनुभएको थियो ।

विगतका इतिहासलाई हेर्दा पनि चितवनका मतादाताले समय समयमा मुख्य राजनीतिक दलका उम्मेदवारलाई निर्वाचत गराएको देखिन्छ । तर यस पटकको निर्वाचन परिणाम भने फरक ढंगले आएको छ ।
पार्टीको सिद्धान्त, विचार र घोषणापत्रका आधारमा चल्नुपर्ने दलहरुले बाटो छोडेकै कारण जनतामा असन्तुष्टि देखिएको यहाँका बुद्धिजीविहरुले औल्याउनु भएको छ । वाम बुद्धिजीवि प्रेम रिमाल व्यक्तिलाई पार्टी बनाउने प्रयास गरिएकै कारण पुराना पार्टीप्रति जनतामा वितृष्णा पैदा भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “नेतृत्वले पार्टी भनेको के हो बुझाउन चाहेनन् ।”

पार्टी भनेको नीति, विचार र कार्यक्रम भएको बताउँदै उहाँले भन्नुभयो “जनतालाई पार्टी भनेको नेता हो भनेर बुझाउने प्रयास भयो । पार्टी भ्रष्ट नभएको स्पष्ट पार्दै उहाँले भन्नुभयो “पुराना पार्टीले गर्न सक्दैनन् भन्ने होइन, ईच्छाशक्ति हराएका पुराना नेताबाट नयाँ काम सम्भव भएन ।” आफू, आफ्नो पारिवार, वरिपरिका व्यक्ति र समूहका मान्छेहरुलाई मात्रै देशको जिम्मा लगाउन खोजेकै कारण जनतामा असन्तोष पैदा भएको उहाँको भनाई छ ।

लेखक डिआर पोखरेल पार्टी खराब नभएर नेताका कारण आम जनतामा वितृष्णा पैदा भएको बताउनुहुन्छ । दलका नेताहरु जनताप्रति जिम्मेवार नभएको भन्दै पोखरेलले भन्नुभयो “जनतामा असाध्यै वितृष्णा छ ।” “राजनीति व्यापार होइन, सेवा हो तर दलहरुले यसलाई पेशा र व्यवसाय बनाए ।” उहाँले भन्नुभयो “स्वार्थकेन्द्रीत राजनीति भयो ।” सबैले आफ्नै नातालाई नेतृत्वको जिम्मेवारी दिन खोजेको भन्दै उहाँले यसको परिणाम इमान्दार कार्यकर्ता पछाडि पर्दै गए र वितृष्णा पैदा भएको बताउनुभयो । पैसा नभएकाहरु निर्वाचनमा लड्न नसक्ने अवस्थाको सिर्जना भएको उहाँ बताउनुहुन्छ ।

शिक्षाविद् रमाकान्त सापकोटा बहुदलीय व्यवस्थापछिको ३० वर्षसम्म आफ्ना कार्यकर्तालाई राजनीति प्रशिक्षण दिने काम कम भएको बताउनुहुन्छ । भूमिगत कालमा राजनीति बुझाउने काम हुने गरेको भन्दै उहाँले खुल्ला परिवेशमा राजनीतिक प्रशिक्षण शुन्य हुँदा पुराना दलका कार्यकर्ता नेताप्रति उत्तरदायी नभएको बताउनुभयो । सापकोटाले भन्नुभयो “प्रणालीभन्दा नेताको नेतृत्व र व्यक्तित्वप्रति प्रश्न उब्जियो ।” नयाँ पुस्ता राजनीति इतिहासप्रति प्रशिक्षित नभएको उहाँ बताउनुहुन्छ । शिक्षण संस्था र सामाजिक संघ संस्थामा राजनीतिको नकारात्मक प्रभाव देखिएको उहाँको बुझाई छ । उहाँले भन्नुभयो “यसले गर्दा नयाँ पुस्तामा दलप्रति वितृष्णा भयो ।”

निर्वाचनले ल्याउने परिणामले नयाँ समृद्धि र विकास दिने सन्देशभने नदेखिएको उहाँको भनाई छ । जनताको आर्थिक, सामाजिक व्यवस्थापनभन्दा नेतृत्वको व्यवस्थापन प्रमुख प्राथमिकतामा परेकै कारण वितृष्णा पैदा भएको उहाँको बुझाई छ । दलभित्रको विधि कमजोर रहेको भन्दै उहाँले भन्नुभयो “दलभित्रको विधि र प्रणाली सुध्रिनु पर्छ ।” नेपालको राजनीतिमा विदेशी चलखेल हुँदै गर्दा नेतृत्व कमजोर बन्दै गएको उहाँ बताउनुहुन्छ ।

प्राध्यापक डा.एकनारायण पौडेल दलका नेताको कार्यशैलीले यो अवस्था सिर्जना भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “नेताका शैलीका कारणले धेरैमा असन्तुष्टि छ ।” नयाँ सोच नपाएका कारण नेताप्रति जनता विश्वस्त हुन नसकेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “नेताहरु सच्चिन आवश्यक छ ।” यसै कारण मतदाताले विद्रोह गरेको उहाँको भनाई छ ।

बहुदलीय व्यवस्थामा दल आवश्यक भएको भन्दै उहाँले दल चलाउने नेताहरु नै सच्चिन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो “पार्टी र सिद्धान्त दोषी होइन, नेता नै दोषी हुन् ।”नेकपा (एमाले) चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने दलहरुले जनतालाई आश्वस्त दिलाउन नसकेका कारण यो अवस्था सिर्जना भएको बताउनुहुन्छ । दलहरुले युवाहरुलाई अगाडि ल्याउन नसक्दाको परिणाम मतदानबाट देखिएको उहाँको बुझाई छ ।

दलहरुले स्थायी सरकार दिन नसक्दा पनि समस्या भएको भन्दै उहाँले पुराना ठूला दलको विकल्पमा विकास र समृद्धि सम्भव नभएको दावी गर्नुभयो । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल आफूहरुले गरेको दलीय गठबन्धन मतदाताको तहमा तालमेल हुन नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “हामीले गठबन्धन ग¥यौं, तर मतदाताबीचमा व्यवस्थित गर्न सकिएन ।” निर्वाचनमा जोजसले जिते पनि संविधानको रक्षक र कार्यान्वयन गर्ने पक्षमा पुराना दलको भूमिका महत्वपूर्ण हुने उहाँको बुझाई छ ।

माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारी दलको गठबन्धन मतदातास्तरमा हुन नसकेको बताउनुहुन्छ । पुराना दलहरुप्रति आकर्षण घटेको भन्दै उहाँले मतदाताको आक्रोस फरक उम्मेदवार मार्फत् प्रकट भएको बताउनुहुन्छ । जनअपेक्षा समयमा दलहरुले बुझ्नु पर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !