चितवनः चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता लिनु भएको छ । इच्छाकामना गाउँपालिकाको मत गणनामा दोस्रो र तेस्रो भएर पछ्याउँदै आउनु भएका लामिछानेले कालिका नगरपालिकाको मत गणना संगै अग्रता लिनु भएको हो ।
लामिछानेले ४ हजार ७ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले ३ हजार ८७९ मत ल्याउनु भएको छ भने गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उमेश श्रेष्ठले ३ हजार ४१० मत प्राप्त गर्नु भएको छ । यस क्षेत्रमा ६७.३ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता रहेका छन् ।

जिल्लाका तीनै निर्बाचन क्षेत्रको मत गणना जारी रहेको छ । पछिल्लो परिणाम अनुसार चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्र्टीका हरि ढकाल अग्र स्थानमा रहनु भएको छ । उहाँले ६ हजार २६७ मत प्राप्त गर्दा नेकपा एमालेका सुरेन्द्र पाण्डेले ५ हजार ३९९ मत प्राप्त गर्नु भएको छ । गठवन्धनबाट उम्मेदवार बन्नु भएका नेपाली काङ्ग्रेसका विश्वनाथ पौडेलले ५ हजार २९५ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा १ लाख ३९ हजार ८४५ जना मतदाता रहेका छन् । जस मध्ये ६८.७३ प्रतिशत मत खसेको छ ।

क्षेत्र नम्बर ३ मा राप्रपाका बिक्रम पाण्डेले अग्रता कायम राख्नु भएको छ । उहाँले ४ हजार ७७४ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले ४ हजार मत प्राप्त गर्नु भएको छ । गठवन्धनबाट उम्मेदवार वन्नुभएका माओवादी केन्द्रका डा. भोजराज अधिकारीले ३ हजार ८२७ मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार दिनेश कोईरालाले ३ हजार १७५ मत प्राप्त गर्नु भएको छ । यो मत परिणाम बिहान दिउँसो २ वजे सम्मको हो । निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा ३ मा ६५.४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिनुभयो । यस क्षेत्रमा १ लाख ४४ हजार २८३ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस !