चितवन: मंसिर ४ गते आईतबार भएको प्रतिनिधि सभा एबं प्रदेश सभा निर्वाचनको मत गणना जारी रहेको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमानै मतगणना जारी रहेको हो ।
चितवन क्षेत्र नम्बर १ मा ५ हजार ४१५ मत गणना हुदा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अग्र स्थानमा रहनु भएको छ । उहाँले १ हजार ८५० मत प्राप्त गर्दा गठवन्धन बाट उम्मेदवार बन्नु भएका नेपाली काङ्ग्रेसका विश्वनाथ पौडेलले १ हजार ८१० मत प्राप्त गर्नुभएको छ । यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेले १ हजार ३६९ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा १ लाख ३९ हजार ८४५ जना मतदाता रहेका छन् । जस मध्ये ६८.७३ प्रतिशत मत खसेको छ ।
यस्तै चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले सुरुवाती अग्रता कायम राख्नु भएको छ । ३ हजार ९५९ मत गन्दा उहाँले १ हजार ५६६ मत प्राप्त गर्नु भएको छ भने गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उमेश श्रेष्ठले १ हजार ३३४ मत प्राप्त गर्नु भएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले ८१६ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस क्षेत्रमा ६७.३ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता रहेका छन् । यो नतिजा राती १० वजे सम्मको हो ।
क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार दिनेश कोईरालाले अग्रता कायम गर्नु भएको छ । ३ हजार २२ मत गणना हुँदा कोईरालाले ८९८ मत प्राप्त गर्नु भएको छ भने गठवन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका माओवादी केन्द्रका डा. भोजराज अधिकारीले ६७२ मत प्राप्त गर्नु भएको छ । राप्रपाका बिक्रम पाण्डेले ६५५ मत प्राप्त गर्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता वरालले ५८५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा ३ मा ६५.४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिनुभयो । यस क्षेत्रमा एक लाख ४४ हजार २८३ मतदाता छन् ।






