चितवनः मंसिर ४ गते आईतबार भएको प्रतिनिधि सभा एबं प्रदेश सभा निर्वाचनको मत गणना जारी रहेको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमानै मतगणना जारी रहेको हो । चितवन क्षेत्र नम्बर १ मा हाल सम्म एक हजार मत गणना हुँदा गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार विश्वपौडेलले सुरुवाती अग्रहता लिनु भएको छ । उहाँले ३३७ मत प्राप्त गर्दा नेकपा एमालेका सुरेन्द्र पाण्डेले २५२ मत प्राप्त गर्नुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ३२९ मत प्राप्त गर्नुभएको निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस क्षेत्रमा १ लाख ३९ हजार ८४५ जना मतदाता रहेका छन् । जस मध्ये ६८.७३ प्रतिशत मत खसेको छ । यस्तै चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले सुरुवाती अग्रता लिनुभएको छ । १ हजार १२६ मत गन्दा उहाँले ५५४ मत प्राप्त गर्नु भएको छ भने गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उमेश श्रेष्ठले ३९७ मत प्राप्त गर्नु भएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले ८७ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस क्षेत्रमा ६७.३ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता रहेका छन् । चितवन क्षेत्र नम्बर ३ को मत गणना सुरु भएको छ । सर्बदलीय बैठकले २ः१५ वजे सुरु गर्ने भनि निर्णय गरिएको भए पनि ४ः३५ वजेबाट मत गणना सुरु गरिएको हो ।






