चितवनः मधुमेहका बिरामीहरुले औषधि, खानपान र व्यायामको सन्तुलन कायम गर्न सकेमा लामो आयु जीउन सक्ने चिकित्सकहरुले बताएका छन् । स्वस्थ खानपान र नियमित व्यायामले कतिपय मधुमेहका रोगबाट बच्न सकिने बताउँदै उहाँहरुले मधुमेह भईसकेपछि पनि औषधि, खानपान र व्यायामको सन्तुलन मिलाएर सहज जीवनयापन गर्न सकिने बताउनु भएको हो ।
चितवन मेडिकल कलेजका इन्डोक्राईमोलोजिष्ट (हर्मनरोग विशेषज्ञ) डा. सौरव खतिवडाले मधुमेह बयस्क मानिसलाई मात्रै नभएर युवाहरुलाई पनि लाग्ने बताउँदै जीवनशैली परिवर्तन गरेर सहज जीवनयापन गर्न सकिने बताउनुभयो । औषधि, खानपान र व्यायामले मधुमेहलाई नियन्त्रणमा राख्न सकिने उहाँले भन्नुभयो “गर्भावस्था, शल्यक्रियाको समय र अन्य औषधिका कारणले हुने मधुमेह पछि निको भएर जाने भए पनि यी बाहेकका प्रायः मधुमेह पूर्णरुपमा निको हुँदैनन् ।” उहाँले भन्नुभयो “यो बढ्दै जाने रोग हो । यसलाई औषधि, खानपान र व्यायामले नियन्त्रणमा राख्न सक्छौँ ।”
नेपालका १० देखि २० प्रतिशत जनसंख्यामा मधुमेहको समस्या रहेको अनुमान गरिएको भन्दै उहाँले ग्रामीण क्षेत्रमा १० प्रतिशत र शहरी क्षेत्रका २० प्रतिशत हाराहारी मानिसहरुलाई मधुमेहको समस्या रहेको जानकारी दिनुभयो । मधुमेहका बिरामी आफै सचेत भएर रोगलाई नियन्त्रणमा राख्नुपर्ने बताउँदै डा. खतिवडाले भन्नुभयो “खानपानलाई नियन्त्रणमा राख्नुपर्छ, व्यायाम गर्नुपर्छ, औषधि नियमित खानुपर्छ ।”
औषधि र इन्सुलिन लिईरहनु भएका बिरामीले सही तरिकाले औषधि खान र इन्सुलिन लगाउन सुझाव दिंदै डा. खतिवडाले भन्नुभयो “सुगर (चिनी) को मात्रा उच्च वा न्यून भयो भने के कारणले यस्तो भएको हो भन्ने कुरा पत्ता लगाउनु पर्दछ ।” यो सबै कुराको शिक्षा दिन डाक्टरले मात्रै नपुग्ने बताउँदै उहाँले अगाडि थप्नुभयो “डाईटिसियन, डाईविटिज एजुकेटर र आफैले पनि स्वअध्ययन गरेर यो सम्बन्धी जानकारी लिनुपर्छ ।”
मधुमेहका बिरामीले पनि सामान्य एकजना व्यक्तिले खाने सन्तुलित खाना नै खान सक्ने बताउँदै डा. खतिवडाले भन्नुभयो “खानामा कार्बाेहाईड्रेडको मात्रा नियन्त्रणमा राख्नुपर्छ । मुख्य रुपमा सजिलै चिनी निस्किने खालको कार्बाेहाईड्रेड नभएको खाना खानुपर्छ ।” खानामा एकरुपता हुनु पर्ने बताउँदै डा. खतिवडाले भन्नुभयो “बिहान, दिउँसो र बेलुकीको खानामा म यति कार्बाेहाईड्रेड भएको खान्छु भन्ने निश्चित गर्नुपर्दछ । कहिले बढी खाने कहिले कम खाने गर्नु हुँदैन ।” मधुमेहका बिरामीलाई दुईदेखि तीन पटक अन्न खान सुझाव दिंदै उहाँले अरु समयमा पनि थोरैथोरै तर कम अन्नयुक्त खानेकुरा खान सुझाउनुभयो ।
कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरका कन्सल्टेन्ट फिजिसियन डा. देवनारायण जैसीले मधुमेहका बिरामीलाई पनि शरीरमा सुगर (चिनी) आवश्यक पर्ने बताउनुभयो । उहाँले मधुमेहका बिरामीको शरीरमा पनि सुगर चाहिने तर आवश्यकताभन्दा बढी हुन नहुने बताउनुभयो । उहाँले भन्नुभयो “मधुमेहका बिरामीको शरीरलाई सुगर चाहिंदै नचाहिने भन्ने होइन, तर आवश्यकताभन्दा बढी हुनु हुँदैन । सुगर भनेको शरीरका लागि इन्धन हो ।” सुगरको मात्रा बढी भएर शरीरले त्यसको व्यवस्थापन गर्न नसकेपछि समस्या आउने उहाँले बताउनुभयो ।
पहिलेपहिले ४० वर्षपछि मधुमेह रोग देखिन्छ भन्ने गरिएको भए पनि हिजो आज जीवनशैलीमा परिवर्तन आएपछि कम उमेरमै मधुमेह देखिन थालेको उहाँको भनाई छ । डा. जैसीले भन्नुभयो “खानपानका कारण कलिलो उमेरमै मोटोपनको समस्या, व्यायाम नगर्ने जस्ता कारणले हिजोआज २५–३० वर्षदेखि नै मधुमेहको समस्या देखिने गरेको छ । यसको मुख्य कारण जीवनशैली नै हो ।”
बुबाआमालाई मधुमेह छ भने त्यस्तो व्यक्तिलाई मधुमेह हुने सम्भावना बढी हुने भन्दै उहाँले अनियन्त्रित रुपमा बाहिरी खाना धेरै खाने, व्यायामको कमी हुने व्यक्तिहरुलाई मधुमेह हुने सम्भावना पनि बढी हुने बताउनुभयो ।
धेरैजसो मधुमेहको समस्या नियन्त्रण गर्न सकिने बताउँदै उहाँले भन्नुभयो “घरमा तयार पारिएको सन्तुलित खाना ठिक्क मात्रामा खाने, जङ्गफुडहरु नखाने, बोसो र चिल्लोयुक्त खाना नखाने, नियमित व्यायाम गर्ने हो भने धेरैजसो मधुमेहबाट बच्न सकिन्छ ।”
मधुमेह लागिसकेपछि शरीरको तौल घट्दै जाने बताउँदै उहाँले भन्नुभयो “पटक पटक पिसाब लाग्नु, धेरै भोक लाग्नु, मुख सुक्दै जानु, हातखुट्टा झम्झमाउनु, कमजोर महसुस हुनु भनेको मधुमेहका लक्षणहरु हुन् । यस्तो लक्षण देखिएमा तुरुन्त रगत परीक्षण गराउनु पर्दछ ।”
गर्भवती महिलाहरुलाई पनि मधुमेहको जोखिम हुने डा. जैसीको भनाई छ । उहाँले भन्नुभयो “हामीले २४ देखि २८ हप्ताको बीचमा गर्भवती महिलाहरुको सुगर परीक्षण गर्ने गर्दछौं । गर्भवती हुनुभन्दा पहिले नै तौल बढी छ, मोटोपना छ, यसभन्दा पहिलाको गर्भावस्थामा पनि मधुमेह भएको छ भने दोस्रो गर्भावस्थामा मधुमेह हुने सम्भावना बढी हुन्छ ।” यस्ता महिलाहरुले गर्भावस्थाको शुरुवाती चरणदेखि नै मधुमेह परीक्षण गराउन उहाँले सुझाव दिनुभयो ।






