चितवनः मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि जिल्लाका राजनैतिक दलसँगै स्वतन्त्र उम्मेदवारहरु पनि घरदैलोमा व्यस्त रहेका छन् । जिल्लाका ३ प्रतिनिधि सभा र ६ प्रदेश सभा निर्वाचनका लागि ११४ जना उम्मेदवार मैदानमा रहेका छन् । जस मध्ये ४७ जना स्वातन्त्र उम्मेदवार हुन् । उनीहरुले आफ्ना मुद्दा सहित घरदैलो कार्यक्रम गरिरहेका छन् ।

चितवन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनुभएका राजन न्यौपाने अहिले मतदाता भेट्ने कार्यक्रममा व्यस्त हुनुहुन्छ । आफ्ना सीमित मुद्दाहरु लिएर जनतामाझ गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “म सुशासन, भ्रष्टाचार नियन्त्रण र विकास निर्माणका मुद्दा लिएर जनतामाझ गएको छु ।” देशमा बढ्दो भ्रष्टाचार नियन्त्रण गर्न दलका उम्मेदवारले नसक्ने भन्दै उहाँले यसका लागि स्वतन्त्र उम्मेदवारको जीत आवश्यक रहेको बताउनुभयो ।

यस्तै सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बन्नुभएका गोविन्द रिजाल पनि घरदैलोमानै व्यस्त हुनुहुन्छ । उहाँले भ्रष्ट्राचारमुक्त समाजको परिकल्पना सहित मत माग्दै हिड्नुभएको छ । उहाँले भन्नुभयो “विकास निर्माणसँगै भ्रष्ट्राचार मुक्त समाज निर्माण अहिलेको आवश्यकता हो ।” सुशासन स्थापना गर्दै अर्थतन्त्रलाई बलियो बनाएर विकास निर्माणमा जुट्नु अहिलेको आवश्यकता रहेको उहाँले बताउनुभयो । स्थिर सरकार स्वदेशमा रोजगार, शिक्षा स्वास्थ्य, गासबास, कपास सर्वसुलब बनाउन सके जनताको जीवनस्तर माथि उठ्ने अठोटका साथ उहाँ चुनावी मैदानमा होमिनु भएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा १० जना स्वतन्त्र उम्मेदवारहरु रहेका छन् । उनीहरु यस्तै मुद्दा र नाराका साथ निर्बाचनका लागि मतदाता सामु पुगेका छन् ।

क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार बन्नुभएकी देबीका कुँबर फरक खालका मुद्दाका साथ मतदाताको घरदैलोमा पुग्नुभएको छ । उहाँले कृषि, शिक्षा स्वास्थ्य, लैंगिक समानता जस्ता मुद्दा बोकेर मतदाता संग मत माग्दै हुनुहुन्छ । उहाँले भन्नुभयो “कृषिमा आत्मनिर्भर, गुणस्तरीय शिक्षा, सबैको पहँुचमा स्वास्थ्य सेवा हाम्रा मुख्य मुद्दा हुन् ।” उहाँले सामाजिक तथा लैगिक समनता, बिपन्न समुदायको विकास, पर्यटन क्षेत्रको विकास, सुकुम्बासीको दिगो समाधान लगाएतका मुद्दा लिएर घरदैलो गर्दै आउनु भएको छ ।

अर्का स्वतन्त्र उम्मेदवार अंगुर पन्त पनि चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि मैदानमा हुनुहुन्छ । उहाँले देशमा सुशासन कायम गर्दै राज्यबाट उपलव्ध सेवा सुबिधा जनतासम्म पु¥याउने बताउँदै आउनुभएको छ । उहाँले जनतालाई सीप र शिक्षा जोड्दै देशको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो “समाज परिवर्तन गर्न जरुरी छ । यसका लागि मेरो उम्मेदवारी हो ।” समाजमा बढ्दो भ्रष्टाचारका कारण जनताले दुःख पाएको भन्दै उहाँले यसको अन्त्यका लागि मतदातासँग मत माग्दै आएको बताउनुभयो । यस निर्बाचन क्षेत्रमा ६ जना स्वतन्त्र उम्मेदवार हुनुहुन्छ ।

चितवन क्षेत्र नम्बर ३ मा दलका तर्फबाट भन्दा स्वतन्त्र उम्मेदवार धेरै छन् । २०७० सालको संबिधान सभा निर्वाचन पछि चर्चामा रहेको यस क्षेत्रमा दलका ८ जना उम्मेदवार रहेका छन् भने स्वतन्त्रका १२ जना उम्मेदवार रहेका छन् । स्वतन्त्र उम्मेदवार दिनुभएका हरि तामाङ् पार्टी भित्रको गलत प्रबृत्तिको अन्त्यका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । समाजमा देखिएको निराशालाई आशामा बदल्न आफ्नो उम्मेदवारी रहेको उहाँले बताउनुभयो ।

जिल्लाभर ४ लाख ८ हजार ३४२ मतदाता रहेका छन् । उनीहरु मध्ये महिला २ लाख ९ हजार ३०९ र पुरुष एक लाख ९९ हजार ३२ जना रहेका छन् । १ सय ६१ मतदान स्थलमा रहेका ४ सय ६० मतदान केन्द्रबाट उनीहरुले मतदान गर्ने छन् ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख एक लाख ३९ हजार ८४५ मतदान रहेका छन् । क्षेत्र नम्बर २ मा एक लाख २४ हजार २१४ र ३ मा एक लाख ४४ हजार २८३ जना रहेका छन् । यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा ६६ हजार १५, १ (ख) मा ७३ हजार ८३० जना मतदान रहेका छन् । २ (क) मा ६१ हजार ९७३, २ (ख) मा ६२ हजार २४२, ३ (क) मा ७८ हजार २८६ र ३ (ख) ६५ हजार ९९६ जना मतदान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !