डा. विराज पराजुली

१४ कात्तिक, हामी अहिले मौसम परिवर्तनको समयमा छौं । यो समय गर्मीबाट जाडोमा जाने समय हो । यस्तो समयमा बालबालिकामा मौसम परिवर्तनले असर गर्दछ । अब धेरैजसो चिसो मौसममा लाग्ने भाइरसहरु सक्रिय हुन थाल्दछन् । यस्ता भाइरसहरुले धेरै बालबालिकालाई असर गर्दछन् । हामीले अनुभूति गरेको कुरा के हो भने बालबालिकामा धेरै नै भाईरल इन्फेक्सन (संक्रमण) भईरहेको हुन्छ ।

बालबालिकाहरु जब २–३ वर्षका हुन्छन् तब बाहिरी वातावरणमा घुलमिल हुन थाल्दछन् । यस्तो अवस्थामा भाईरल संक्रमण बढी हुन्छ । बाहिरी वातावरणमा लाखौं भाइरसहरु रहेका हुन्छन्, धेरै जसो भाइरसहरु एक पटक शरीरमा प्रवेश गरिसकेपछि शरीरले जीवनभर इम्युनिटी उत्पादन गर्दछ । कतिपय भाइरसहरुलाई खोपको माध्यमबाट निर्मुल पार्न पनि सकिन्छ । तर सबै भाइरसहरुको खोप र उपचार हुँदैन ।

भाईरल संक्रमण र ब्याक्टेरियाको संक्रमण सबैले निमोनिया बनाउँछ कि बनाउँदैन भन्ने प्रश्न आउन सक्छ । भाइरस र ब्याक्टेरियाको संक्रमण मध्ये ९० देखि ९५ प्रतिशत साधारण समस्या मात्रै आउँछ । साधारण समस्या भन्नाले ज्वरो आउने, रुघा लाग्ने, खोकी लाग्ने, घाँटी रातो हुने जस्ता समस्या देखिन्छन् । यी साधारण समस्याहरु हुन् । धेरै बालबालिकाहरुमा यस्तो समस्या हुने गर्दछ । यस्तो अवस्थामा खासै औषधिको आवश्यकता पर्दैन । लक्षण अनुसारको औषधीले यसको रोकथाम गर्न सकिन्छ । लक्षण अनुसारको औषधी भन्नाले ज्वरो आएको बिरामीलाई प्यारासिटामोल मात्र दिने, खोकी लागेको छ भने कफ सिरफ दिने गर्नुपर्छ । दुई वर्षभन्दा मुनिका बालबालिकालाई कफ सिरफले काम गर्दैन । उल्टो नोक्सान गर्न सक्छ । बालबालिकामा लाग्ने खोकीहरु कस्तो हुन्छ भने खोकीले खान सुत्नमा असर गरेको छैन भने यस्ता खोकीहरु निश्चित समयपछि आफै निको हुने गर्दछन् ।

फोक्सोको कणहरुमा हुने इन्फेक्सन (संक्रमण) नै निमोनिया हो । निमोनियाले साधारण रुघाखोकी सँगै फोक्सोमा समेत असर गर्दछ । निमोनिया भएपछि साधारण रुघाखोकीका जस्तै लक्षण सहित फोक्सोको समस्या देखिन्छ । जस्तो अवस्थामा लामोलामो श्वास लिने, कामज्वरो आउने, बालबालिकाले खान गाह्रो हुने गर्दछ । धेरैजसो बालबालिकालाई भाईरसकै कारणले निमोनिया हुन्छ । भाईरस संक्रमण निको हुनका लागि सातदेखि १४ दिन लाग्न सक्छ । तर अभिभावकहरु सात दिनभएपछि सबै निको हुनु पर्ने अपेक्षा राख्नुहुन्छ । अभिावकले धेरै थरिका एन्टिबायोटिक औषधि दिएर भए पनि छिटो निकोहोस् भन्ने चाहनुहुन्छ । एक हप्तापछि पनि अझै बच्चालाई गाह्रो हुँदै गयो, ज्वरो बढ्दै गयो, श्वाश्वा बढ्दै गयो भने ब्याक्टेरियाको संक्रमण हो कि भनेर परीक्षणपछि यदि ब्याक्टेरियाले संक्रमण गरेको रहेछ भने त्यो अवस्थामा एन्टिबायोटिकले काम गर्न सक्छ ।

अहिले अभिभावकहरु बच्चालाई सामान्य रुघा खोकी, ज्वरो आउँदा पनि एक दुई दिनमा निको होस् भन्ने चाहनुहुन्छ । सामान्य औषधि दियो भने अभिभावक सन्तुष्ट हुनुहुन्न । भाईरल इन्फेक्सनमा लक्षणहरु विस्तारै कम हुँदै जाने हो । एक दिन ज्वरो आयो वा खोकी लाग्यो भन्दैमा एन्टिबायोटिक खुवाउनु हुँदैन । लक्षण अनुसारको उपचार गर्नुपर्ने हुन्छ । कसैको नाक बन्द भएको छ भने नाक खुलाउने औषधि राख्न सकिन्छ, ज्वरोको लागि प्यारासिटामोल दिन सकिन्छ, खोकीको लागि हानिबेस सिरफ दिन सकिन्छ । त्यो बाहेकको पाँच सात दिन खासै औषधि आवश्यक पर्दैन ।

रुघा, खोकी, ज्वरो आएका पाँचदेखि १० प्रतिशत बालबालिकालाई फोक्सोमा असर गर्न सक्छ । नाक, घाँटीमा मात्रै नभएर फोक्सोमा नै असर गरेर श्वाश्वा हुने, सिटी बजेजस्तो आवाज आउने हुन्छ । यस्तोमा बच्चाको अवस्था हेरी कसैलाई अक्सिजन लगाउने, कसैलाई बाफ दिने गर्नुपर्छ । यस्तो अवस्थामा पनि एन्टिबायोटिकको भूमिका हुँदैन ।

कतिपय अभिभावकले प्रश्न गर्नुहुन्छ “डा.साब अक्सिजन लगाउनु भएको छ, बाफ दिनुभएको छ तर एन्टिबायोटिक दिनुभएको छैन ?” तर यसमा पनि एन्टिबायोटिकले ठीक गर्ने होइन । लक्षणहरु विस्तारै कम हुँदै जान्छ भन्ने कुरा बुझ्नु प¥यो ।

जाडो मौसम शुरु हुन थाल्यो, धुवा धुलो धेरै हुन्छ । यस्तो अवस्थामा बालबालिकामा एलिर्जि पनि हुन सक्छ । कसैकसैलाई दमको जस्तो श्वाश्वा हुने समस्या हुन्छ । यस्तो अवस्थामा बालबालिकालाई धुँवा धुलोबाट बचाउनु पर्छ । भाईरल इन्फेक्सनबाट बच्नका लागि भने अरुको सम्पर्कमा नजानु नै उत्तम हो । अर्थात् कोभिडको समयमा हामी लकडाउनमा बसे जस्तै हो । तर यो पूर्ण रुपमा पालना गर्न कठिन हुन्छ ।

विद्यालय जाने बालबालिकामा एकबाट अर्काेमा रुघा खोकी सर्न सक्छ । एक जनालाई सामान्य भएको समस्या अर्काेमा सर्दा जटिल बन्न सक्छ । जाडो मौसममा बालबालिकालाई न्यानो गरी राख्नुपर्छ । घाममा राख्ने, न्यानो कपडा लगाईदिने गर्नुपर्छ ।

भाईरसहरुका विरुद्धमा खोपहरु छन् । तर यिनीहरुले पनि शतप्रतिशत रोक्छ भन्ने हुँदैन । परिवारका अन्य सदस्यहरु बाहिर गएर आउँदा भाईरस ल्याएर बच्चामा सार्न सक्नुहुन्छ । त्यसैले कोभिडले हामीलाई सिकाएका हात धुने लगायतका सरसफाई सधैं नै अपनाउनु राम्रो हुन्छ ।

जाडो मौसममा बालबालिकालाई निमोनिया मात्रै नभएर झाडावान्ता पनि हुन सक्छ । त्यसैले हात लगायतको सरसफाई, शरीरलाई न्यानो बनाईराख्ने, धेरै तातो पनि नबनाउने, धुँवा धुलोबाट टाढै रहने, माक्स लगाउने र खोप लगाउने गर्ने हो भने धेरै हदसम्म भाईरल इन्फेक्सनबाट बालबालिकालाई बचाउन सकिन्छ ।

सबैभन्दा पहिलो बालबालिकामा भाईरल इन्फेक्सन हो कि ब्याक्टेरियाको इन्फेक्सन हो भन्ने पत्ता लगाउनु जरुरी छ । बालबालिकामा ९० प्रतिशत भाईरल इन्फेक्सन नै हुन्छ । त्यसमा पनि ९० प्रतिशत सामान्य समस्या मात्रै हुन्छन् ।

रुघाखोकी लागेको बच्चालाई सिटामोल मात्रै लेखिदियो भने अभिभावकहरुलाई विश्वास नै नलाग्ने हुन्छ । बिरामीलाई एन्टिबायोटिक नदिई कसरी निको हुन्छ ? भने जस्तो गर्नुहुन्छ । हाम्रो कल्चर (परम्परा) नै यस्तो भईसक्यो । अवस्था हेरी एन्टिबायोटिक दिनु पर्ने हुन्छ तर सबै बालबालिकालाई एन्टिबायोटिक खुवाउनु पर्ने जरुरत पर्दैन ।

डा.पराजुली चितवन मेडिकल कलेजको बालरोग विशेषज्ञ हुनुहुन्छ

प्रतिक्रिया दिनुहोस !