चितवनः तिहार र छठ पर्वको लामो विदाको समयमा चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको ओईरो लागेको छ । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जीप, हात्ती, डुंगा र पैदल यात्रा गर्नेहरु अधिक भएका हुन् । निकुञ्जभित्रका सडकमा जीपहरु बाक्लो देखिन्छन् भने जीप र हात्ती यात्रा गर्न पालो कुर्नुपर्ने अवस्था रहेको छ ।

तिहारको टीकाको भोलिपल्टबाट आन्तरिक र बाह्य पर्यटकको बाक्लो उपस्थिति रहेको हो । संख्यात्मक हिसाबले आन्तरिक पर्यटक धेरै छन् । पर्यटकीय गतिविधिमा समावेश भएर रात नबसी फर्किनेहरुको संख्या ठूलो छ । सौराहा, पटिहानी, जगतपुर, र मेघौलीका राम्रा पर्यटकीय होटल भरिएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारी निकुञ्जको सौराहाबाट ३२, कसराबाट १४, मेघौलीबाट ९ र माडीबाट एउटा जीपले दैनिक पर्यटक निकुञ्ज घुमाएका छन् । यस्तै नेचर गाईडको सहयोगमा पैदल यात्रा गर्ने, डुंगामा घुम्नेको संख्या पनि निकै बढेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार दैनिक रु.१० देखि १५ लाख राजश्व संकलन भईरहेको छ ।

सौराहामा हात्ती सञ्चालन गर्दै आएको युनाईट हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले देशैभरबाट आन्तरिक पर्यटक आएको बताउनुभयो । उहाँले भन्नुभयो “अहिले त कुरा गर्ने फुर्सद पनि छैन ।” सहकारीका ३२ वटा हात्तीले दैनिक चार पटक मध्यवर्ती सामुदायिक वन घुमाउँदा पनि धेरैलाई हात्ती चढाउन नसकिएको उहाँले बताउनुभयो । तिवारीले आफ्नो होटलमा विराटनगरदेखिका आन्तरिक पर्यटक आएर भरिएको बताउनुभयो । लामो विदाका कारण पर्यटकको राम्रो उपस्थिति रहेको उहाँ बताउनुहुन्छ । आन्तरिक रुपमा पर्यटक घुमाउन सवारीसाधनको समेत अभाव भएको तिवारीले जानकारी दिनुभयो ।

पर्यटक बढेसँगै रेष्टुरेन्टहरु भरिभराउ छन् । रेष्टुरेन्ट व्यवसायी दीपेन्द्र खतिवडाले चहलपहल निकै बढेको बताउनुभयो । उहाँले भन्नुभयो “आन्तरिक र बाह्य पर्यटकले रेष्टुरेन्टहरु भरिएका छन् । बजार क्षेत्रमा रहेका होटलहरुमा कोठा नपाएको गुनासो गरेको रेष्टुरेण्ट एण्ड बार एसोसिएसन सौराहाका निवर्तमान अध्यक्ष समेत रहनु भएका खतिवडाले जानकारी दिनुभयो । सौराहामा ८० हाराहारी रेष्टुरेन्ट छन् । उहाँले भन्नुभयो “कोभिडपछिको धेरै पर्यटक अहिले सौराहा आएका हुन् ।”

सौराहाको युनिक वाईल्ड रिसोर्टका सञ्चालक गुणराज थपलिया युरोपियन पर्यटक पनि राम्रो रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “मेरो होटलका ३० वटा कोठा पूरै भरिएका छन् ।” स्वदेशीसँगै अष्ट्रेलियन, नेदरल्याण्डलगायतका देशका पर्यटक रहेको उहाँ बताउनुहुन्छ ।

राप्ती नदी किनारमा रहेको होटल नेचर हेरिटेजका सञ्चालक दामोदर रेग्मीले आन्तरिक र बाह्य पर्यटकले होटल भरिएको बताउनुभयो । उहाँले भन्नुभयो “यो वर्षको तिहारको व्यापार धेरै राम्रो छ ।” आफ्नो होटलका ३५ वटा कोठा भरिएको उहाँ बताउनुहुन्छ ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले तिहारमा पर्यटकको राम्रो उपस्थिति रहेको बताउनुभयो । होटलका कोठाको तुलनामा अन्य पर्यटकीय गतिविधिमा पर्यटकको चाप बढिरहेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो “होटलमा बस्ने भन्दा घुम्ने र फर्किने धेरै छन् ।” जसले गर्दा हात्ती, जीप, डुंगा, साँस्कृतिक घरका गतिविधिमा धेरैले पालो पाउन नसकेको उहाँले बताउनुभयो ।

पटिहानीमा रहेको जंगल भिल्लाका सञ्चालक गणेश पौडेल पर्यटक निकुञ्ज घुम्न आउने पर्यटकको संख्या बढेको बताउनुहुन्छ । राप्ती किनारमा पटिहानीदेखि मेघौलीसम्म रहेका नौ वटा ठूला होटलमा स्वदेशी र विदेशी पर्यटक धेरै रहेको उहाँ बताउनुहुन्छ । ती होटलहरुमा कुनै दिन भरिने र कुनै दिन केही मात्र कोठा रहने गरेका छन् । कोभिडपछि यसरी पर्यटक आएको पहिलो भएको व्यवसायीहरु बताउँछन् ।

चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा, बाघ, भालु, घडियाल गोही, चरा लगायतका लागि प्रख्यात छ । विश्वका धेरै मुलुक र नेपाली पर्यटकको रोजाईमा यो निकुञ्ज पर्दछ । हात्तीमा मध्यवर्ती सामुदायिक वन घुम्न र जीप, पैदल डुंगा निकुञ्जमा सयर गर्न पर्यटक रुचाउँछन् । यससँगै थारु संस्कृति पर्यटकको रोजाईमा पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस !