चितवनः आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि जिल्लाका १६२ मध्ये ३४ मतदानस्थल अति संवेदनशील देखिएका छन् । सुरक्षाको दृष्टिकोणले तीन तहमा मतदानस्थललाई वर्गीकरण गरिएको हो । जिल्ला सुरक्षा समिति चितवनले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार ८९ मतदानस्थललाई संवेदनशील र ३९ मतदानस्थललाई सामान्यमा राखिएको छ । विगतको निर्वाचनमा देखिएका गतिविधि, अब हुनसक्ने गतिविधि, पूर्वाधारको बिकास, सुरक्षानिकायको पहुँच, मतदाता र उम्मेदवारहरुलाई आधार बनाएर मतदानस्थललाई वर्गीकरण गरिएको उहाँले बताउनुभयो ।

अतिसंवेदनशील र संवेदनशील क्षेत्रका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको तामाङले बताउनुभयो । सुरक्षाका लागि म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोलीलाई परिचालन गरिनेछ । जिल्लामा एक हजार दुई सय नेपाल प्रहरी र एक हजार ९९१ म्यादी प्रहरी खटिँदैछन् ।

जिल्लामा कुल एक सय ६२ मतदानस्थल छन् । जसमा चार सय ६० मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । जिल्लाभर चार लाख आठ हजार ३४२ मतदाता रहेका छन् । यो बि.सं. २०७४ को निर्वाचनभन्दा १० हजार ६५७ जना बढी हो । मतदाता मध्ये महिला दुई लाख नौं हजार ३०९ र पुरुष एक लाख ९९ हजार ३२ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !