काठमाडौँ —धेरै मात्रामा चिल्लोचाप्लो खानाको सेवन गर्दा शरीरलाई त्यो चिल्लो पदार्थ पचाउन गाह्रो हुन्छ । राम्ररी खाना नपचेपछि पेट ढुस्स हुने, मुखमा अमिलो पानी आउने र पेट दुख्ने, पोल्नेजस्ता समस्या देखिन सक्छन् । चाडबाडको बेलामा मात्रै पनि धेरै चिल्लो प्रयोग भएको खानेकुरा खायो भने पाचन सम्बन्धी यस्ता सामान्य समस्या देखिन्छ ।लामो समयसम्म धेरै चिल्लो खानेकुरा सेवन गर्‍यो भने कालान्तरमा ग्यास्ट्रिक, कलेजोमा बोसो जम्ने समस्या ‘फ्याटी लिभर’ चिल्लोले कोलेस्टेरोल बढेर मुटुको समस्या समेत देखिन सक्छ ।

ढुस्स पेटको घरेलु उपचार

चिल्लो खानाका कारण ढुस्स भएको पेटको लागि ज्वानो पानीको सेवन सबैभन्दा प्रभावकारी घरेलु उपचार हो । ज्वानोलाई हल्का भुटेर त्यसलाई चपाएर खाएर मनतातो पानीको सेवन गर्‍यो भने पेट ढुस्स हुने समस्या कम हुन्छ । ज्वानोले पेटमा जम्मा भएको चिल्लोलाई काटेर केही राहत प्रदान गर्छ । ज्वानोलाई पानीमा पकाएर पनि सेवन गर्न सकिन्छ ।

साथै जिराको धुलो र मनतातो पानीको सेवनले पनि पेट ढुस्स भएको समस्या कम हुन्छ । बिरे नुन र पानीलाई उमालेर त्यसको सेवन गर्दा ढुस्स भएको पेटलाई सञ्चो गर्छ । कागती पानीको सेवनले पनि यस्तो समस्या कम गर्छ ।

घरेलु औषधि कति प्रभावकारी ?

चाडबाडको समयमा धेरै चिल्लो खानेकुरा खाएर पेट ढुस्स हुने समस्याका लागि घरेलु उपाय नै बढी प्रभावकारी हुन्छ । धेरै चिल्लो खानाको सेवनले पेट ढुस्स भएको बेला प्राथमिक उपचारको रूपमा यस्ता घरेलु औषधिको सेवन गर्न सकिन्छ । लामो समयसम्म यस्तो समस्या देखियो भने अन्य उपचार गर्नुपर्छ, तर छोटो अवधिमा यस्तो समस्या देखिएको छ भने घरेलु उपाय पनि प्रभावकारी हुन्छ ।

कसरी र कति मात्रामा ?

पेट ढुस्स भए १ देखि २ ग्राम ज्वानो, बिरे नुन वा जिरालाई पानीसँग सेवन गर्नुपर्छ । बढी चिल्लोचाप्लो खाना खाएपछि यस्तो समस्या देखिने भएकाले खानाअघि भन्दा पनि खानापछि नै यस्ता औषधिको सेवन गर्नु उपयुक्त हुन्छ ।

ज्वानो, जिरा, कागती र बिरे नुनले पाचन क्षमतालाई राम्रो बनाएर खानालाई राम्ररी पचाउन सहयोग गर्छ । जसले गर्दा पेट ढुस्स हुने फुल्ने समस्या कम हुन्छ । त्यसैले खानापछि नै यस्ता घरेलु औषधिको सेवन गर्नुपर्छ ।

पेट ढुस्स भइरहँदा हुने जोखिम

पेट ढुस्स भइरहँदा त्यसकै कारण ग्यास्ट्रिक, पेट दुख्ने, कब्जियत, छाती पोल्नेजस्ता समस्या देखा पर्छ । धेरै चिल्लो खानाको सेवनले लामो समयसम्म यस्तो समस्या देखिरह्यो भने चिल्लोकै कारण कोलेस्टेरोल बढ्ने, कलेजोमा बोसो जम्ने समस्या आउन सक्छ ।

प्रतिक्रिया दिनुहोस !