चितवनः चितवन क्षेत्र नं. ३ मा बि.सं. २०७४ को संघीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवार थिएनन् । यस पटक पनि यी दुई दलका उम्मेदवार छैनन् । मतदाता भने सबैभन्दा बढी कांग्रेस र दोस्रोमा एमालेको रहेका छन् ।

यस अघिको निर्वाचनमा वाम गठबन्धन हुँदै गर्दा नेकपा एमालेले तेस्रो पार्टीका रुपमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सो क्षेत्र छाडेको थियो । प्रचण्डसँग चुनावी प्रतिस्पर्धाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डेलाई कांग्रेसले सघाएको थियो । निर्वाचनमा दाहालले ४८ हजार २७६ मत ल्याएर विजयी हुँदा राप्रपाका पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गर्नुभएको थियो ।
समानुपातिक तर्फको मतमा नेपाली कांग्रेसले २६ हजार १३७, एमालेले २४ हजार १५५, माओवादी केन्द्रले २२ हजार ९८८ र तत्कालीन राप्रपा प्रजातान्त्रिकले ५हजार ६३३ मत प्राप्त गरेका थिए । यो मतलाई आधार मान्दा पहिलो नेपाली कांग्रेस, दोस्रो नेकपा एमाले र तेस्रोमा माओवादी केन्द्र पर्न आउँछन् । यसलाई हेर्दा गठबन्धनका ठूला दुई दल कांग्रेस र माओवादीको ४९ हजार १२५ हुन आउँछ ।

गत स्थानीय चुनावमा यो क्षेत्रमा गठबन्धनका २८ जना वडाध्यक्ष उम्मेदवारले ४५ हजार १७२ मत प्राप्त गरेका थिए । भरतपुर महानगरपालिकाका १९ वटा वडा र माडी नगरपालिकाका ११ वटा वडा यस क्षेत्रमा पर्दछन् । नेकपा एमालेका वडाध्यक्षहरुले ३० हजार ६०९ र राप्रपाका वडाध्यक्षले ७ हजार ४५४ मत ल्याएका थिए । भरतपुर महानगरपालिकाबाट कांग्रेसका असन्तुष्ट कार्यकर्ताको नेतृत्व गरेर प्रमुखममा उम्मेदवारी दिनुभएका जगन्नाथ पौडेलले क्षेत्र नम्बर ३ मा पर्ने १९ वटा वडाबाट ८ हजार २५३ मत ल्याउनु भएको थियो ।

अहिले नेपाली कांग्रेसको साथ माओवादी केन्द्रका उम्मेदवार डा.भोजराज अधिकारीलाई छ भने एमालेको कांग्रेसका असन्तुष्ट दिनेश कोइरालालाई छ । त्यही क्षेत्रमा राप्रपाका नेता पाण्डे पुनः उम्मेदवार हुनुहुन्छ । कांग्रेसकै असन्तुष्ट पक्षका जगन्नाथ पौडेल पनि उम्मेदवार हुनुहुन्छ ।

नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने ठूला दलले दुई पटकसम्म उम्मेदवारी नदिंदा कार्यकर्तातहमा उत्साह नरहेको बताउनुहुन्छ । निर्वाचनका माध्यमबाट नेतृत्वमा पुग्नका लागि क्षेत्र लिने दिने स्वभाविक भए पनि दोस्रो पटक पनि छोड्दा भने शुभेच्छुकहरुमा निरासा रहेको उहाँ बताउनुहुन्छ । यद्यपी नेतृत्वले भनेको ठाउँमा मतदान गराउने कुरामा पार्टीको प्रयत्न रहेको उहाँको भनाई छ ।

बि.सं. २०७४ सालमा आफ्नो पार्टीले दाहाललाई सहयोग गर्दा समानुपातिक मत समेत कम आएको भन्दै क्षेत्र नं. ३ मा एमाले बलियो पार्टी रहेको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका चितवनका पूर्व सभापति टेकप्रसाद गुरुङ कार्यकर्तालाई सन्तुष्ट बनाउन अझै नसकिएको बताउनुहुन्छ । सो क्षेत्रको पहिलो पार्टी भएर पनि दुई पटक उम्मेदवार दिन नसक्दा नोक्सान भएको भन्दै उहाँले पार्टीको निर्देशनलाई भने मान्नु पर्ने बताउनुभयो । दुई ठूला पार्टीका उम्मेदवार नभएकाले नतिजा कस्तो आउँछ भन्न नसकिने उहाँको भनाई छ ।

सो क्षेत्रमा अघिल्लो निर्वाचनमा १ लाख २५ हजार ८२३ मत मध्ये ९३ हजार ८१३ अर्थात् ७४.५६ प्रतिशत मत खसेको थियो । जसमध्ये ९० हजार २९३ सदर भएको थियो । अहिले मतदाता संख्या बढेर १ लाख ४४ हजार २८२ पुगेको छ । सोही अनुपातमा मत खसेमा १ लाख ७ हजार ५७६ मत खस्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !