चितवनः हाम्रो घरआँगनमा तिहार शुरु भईसकेको छ । तिहार पर्वमा सेल लगायतका तारेका रोटी धेरै खाने प्रचालन छ । यी रोटीहरुले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भन्ने कुरा कमैले मात्रै हेक्का राख्ने गरेका छन् । चिकित्सकहरुले आफ्नो स्वास्थ्यलाई ख्यालमा राखेर यस्ता परिकारको सेवन गर्न सुझाव दिनुभएको छ ।
यस्ता परिकार खाँदै नखान भन्दा पनि सन्तुलित खान उहाँहरुको सुझाव छ । कतिपय बिरामीहरुले खानै नहुने पनि चिकित्सकहरु सुझाउँछन् । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पतालका ग्यास्ट्रो इन्टरोलोजिष्ट डा. खुशराज देवान तेल वा घ्यूमा तारेर बनाएका रोटी ग्यास्ट्रिक, अल्सर र मुखमा अमिलो पानी आउने समस्या भएका बिरामीका लागि हानिकारक हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो “यस्ता समस्या भएका बिरामीले रोटी नखाएकै राम्रो हो ।”
महिनौंदेखि औषधि खाएर स्वास्थ्य राम्रो बनिरहेका बेला एउटा दुई वटा रोटीले फेरि समस्या बल्झिन सक्ने भएकाले सावधानी अपनाउन उहाँले सुझाव दिनुभयो । त्यस्ता बिरामीले धेरै चिल्लो खाँदा बान्ता भएर रगतसम्म आउन सक्ने उहाँको भनाई छ । उहाँले थप्नुभयो “धेरै चिल्लो भएको मासु र तारेका अन्य कुरा पनि बार्नुपर्छ ।”
सामान्य मानिसहरुले समेत चिल्लो धेरै नखान उहाँले सुझाव दिनुभयो । फलफूल, सागपात लगायतका स्वस्थकर खानामा जोड दिन देवानको आग्रह छ । यतिबेला डेंगु, पखाला लगायतका समस्या रहेकाले उच्च सावधानी अपनाएर पर्व मनाउन उहाँले सुझाव दिनुभयो । बजारमा मासु किन्दा समेत स्वस्थकर ठाउँ र कम बोसो भएको मासु खान उहाँले आग्रह गर्नुभयो ।
कलेजो रोग विशेषज्ञ डा. रुपेश श्रेष्ठ कलेजोको समस्या भएका बिरामीले तारेका चिज खान नहुने बताउनुहुन्छ । कलेजो रोग लागेर निको नहुने अवस्थामा पुगेका बिरामीले चिल्लोको सट्टामा धेरै प्रोटिन र कार्बाहाईड्रेड भएका खानामा ध्यान दिनुपर्ने उहाँको भनाई छ । डा. श्रेष्ठले भन्नुभयो “पर्वमा खानै हुँदैन भन्नु भन्दा पनि आफ्नो स्वास्थ्यलाई हेरेर चिल्लो सकेसम्म कम खानुपर्छ ।”
जण्डिस भएका बिरामीले सेल जस्ता तारेका रोटी नखान चिकित्सकहरुको सुझाव छ । भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा. कालिदास अधिकारी तिहार पर्व सेल लगायतका रोटी खाने संस्कार पनि भएकाले खानै हुँदैन भन्दा पनि कम खान सुझाव दिनुहुन्छ । उहाँले भन्नुभयो “घ्यू, तेल बढी भएका रोटी मधुमेह, उच्च रक्तचाप, कोलस्ट्रोल भएका बिरामीले कमै खानुपर्छ ।”
“चार्ड मनाउनु पर्छ, शरीर र रोगको अवस्था हेरेर खानपिन गर्नुपर्छ ।” डा. अधिकारीले भन्नुभयो “पित्त थैलीमा पत्थरी भएकाले यस्ता रोटी धेरै खाँदा दुखेर समस्या झन् बढ्न सक्छ ।” पाचन प्रणाली कमजोर भएकाहरुले पनि रोटी कम खान उहाँले सुझाउनुभयो । उहाँले भन्नुभयो “पचाउन गाह्रो हुनेले खाली पेटमा रोटी त खानै हुँदैन ।” खाली पेटमा बढी चिल्लो खाँदा सामान्य मानिसलाई पनि असर गर्न सक्ने भन्दै उहाँले युवाहरुलाई भने खासै असर नगर्ने बताउनुभयो ।
डा. अधिकारीले थप्नुभयो “शरीर र स्वास्थ्यलाई ध्यान दिएर पर्व मनाउँ ।” चाडपर्वको समयमा आजै मात्र त हो भनेर एकै पटक धेरै चिल्लो खाना खाँदा समस्या बल्झिने खतरा हुन्छ । समयमै खानपानमा ध्यान दिन सकेमा समस्या नपर्ने भएकाले सन्तुलित भोजनमा ध्यान दिन उहाँहरुको सुझाव छ ।






