चितवनः दलहरु आँफैले मतदाता शिक्षा दिन थालेका छन् । जिल्लाका राजनैतिक दलहरुले मतदाता शिक्षामा आफ्नै कार्यकर्तालाई परिचालन गर्दै छन् । निर्वाचन कार्यालयले यही कात्र्तिक २० गते देखि मतदाता शिक्षा सुरु गर्ने भएको छ । निर्वाचनको मिति भन्दा १५ दिन पहिला मतदाता शिक्षा दिन लागिएको हो ।
कार्यालयका प्रमुख भिमशेन कार्कीका अनुसार मतदाता शिक्षलाई तीन तहमा बिभाजन गरी दिन लागिएको छ । जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने मतदाता शिक्षा समिति, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र वडामा वडा सचिबको नेतृत्वमा रहने समितिले निर्वाचन शिक्षा दिने छन् । वडा सचिबले एक जना मतदाता शिक्षाका लागि स्वयंम सेविका नियुक्ति गरी निर्वाचन शिक्षा दिने उहाँले जानकारी दिनुभयो । वडा सचिब र स्वयम सेविकाले वडाको टोल तहमा पुगेर मतदाता शिक्षा दिने छन् । उनीहरुले मतदान कसरी गर्ने र आफ्नो मत कसरी सुरक्षित गर्ने भन्ने बिषयमा जानकारी गराउने उहाँले बताउनुभयो ।
आयोगले संगै राजनैतिक दलहरुले समेत मतदाता शिक्षाका लागि कार्यकताहरुलाई टोलटोलमा नमुना मतपत्र सहित पठाउने तयारीमा रहेका हुन । नेकपा एमाले चितवनले मतदाता शिक्षाका लागि हरेक वडामा खटाउने तयारी गरेको छ । निर्वाचन आयोगले मतदाता शिक्षालाई समेत राजनैतिक दलको काँधमा राखिदिएकाले मतदाता शिक्षा दिनका लागि दलहरुले कार्यकर्ता खटाउनु परेको नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको भनाई थियो ।
नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले निर्वाचनको प्रचार प्रसार संगै कार्यकताहरुलाई मतदाता शिक्षाका लागि जनताको घरदैलोमा पठाईने बताउनुभयो । उहाँले भन्नुभयो “निर्वाचनका लागि आयोगले दिएको प्रचार प्रसारको समय सिमा भित्र मतदाता शिक्षाका लागि कार्यकर्ता खटाउने तयारीमा रहेका छौ ।”
नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले दलका कार्यकर्तालाई मतदाता शिक्षाका लागि खटाई सकिएको बताउनुभयो । गठवन्धन दलले मतदाता शिक्षाका लागि वडा वडामा दुई दुई जना प्रतिनिधिको रुपमा खटाएको उहाँको भनाई छ । दलका नेता कार्यकर्तालाई प्रचार प्रसार संगै मतदाता शिक्षा समेत सिकाउने अधिकारीले बताउनुभयो । अहिले युवा, बिद्यार्थी र सामाजिक सञ्जालबाट मतदाता शिक्षा दिने तयारमा गठवन्धनका दलहरु रहेको उहाँले जानकारी दिनुभयो ।
निर्वाचनका लागि जिल्लामा ५ हजार ५ सय १८ जना कर्मचारी तथा स्वयंसेविका खटिदै छन । हरेक केन्द्रमा मतदान अधिकृत सहित ८ जना कर्मचारी आयोगले खटाउने छ भने ३ देखि ४ जना स्वयंसेबी कर्मचारी मतदान अधिकृतले नियुक्ति गर्ने छन् । ५ सय भन्दा कम मतदाता भएको केन्द्रमा ११ जना र सो भन्दा बढि मतदाता भएको केन्द्रमा १२ जनाका दरले कर्मचारी खटिने निर्वाचन कार्यालयका प्रमुख कार्कीले जानकारी दिनुभयो । उनीहरुले असोज २६ गते नियुक्ति दिईने छ । नियुक्ति संगै कर्मचारीहरुलाई तालिमको व्यवस्था गरि मंसिर १ गते देखि मतदान केन्द्रमा खटाईने उहाँले बताउनुभयो ।
जिल्लामा अहिले ४ लाख ८ हजार ३४२ मतदाता रहेका छन् । जस मध्ये महिला मतदाताको संख्या पुरुषको भन्दा बढि रहेको छ । २ लाख ९ हजार ३०९ मतदाता महिला रहेका छन् भने पुरुष १ लाख ९९ हजार ३२ जना रहेको जिल्ला निर्बाचन कार्यालयले जनाएको छ । कार्कीका अनुसार १६२ मतदान स्थलमा ४६० केन्द्रबाट मतदान हुँदै छ । क्षेत्र नम्बर १ मा १ लाख ३९ हजा ८४५ मतदाता रहेका छन् । जहाँ ५६ मतदान स्थल र १५९ केन्द्रबाट मतदान हुँदै छ । क्षेत्र नम्बर २ मा रहेका १ लाख २४ हजार २१४ जना मतदाताले ४३ मतदान स्थलमा रहेका १३८ केन्द्रबाट मतदान गर्ने छन् । यस्तै चितवन क्षेत्र नम्बर ३ मा ६३ मतदान स्थलका १६३ मतदान केन्द्रबाट १ लाख ४४ हजार २८३ जना मतदाताले मतदान गर्ने कार्कीले बताउनुभयो । जिल्लामा एक जना तेस्रो लिङ्गी मतदाताले समेत मतदानमा सहभागीता जनाउने कार्यालयले जनाएको छ ।






