चितवनः नेपाली काङ्ग्रेसकी नेतृ एबं समाज सेवी मैयादेबी श्रेष्ठको आज बिहान निधन भएको छ । ९५ बर्षिया श्रेष्ठको आज उपचारका क्रममा बिहान १ वजेर १० मिनेट जाँदा चितवन मेडीकल कलेजमा निधन भएको हो । पछिल्लो समय उहाँमा स्वासप्रश्वासको समस्या देखिएको थियो ।
असोज २५ गते अस्पताल भर्ना गरिएकोमा ५ दिन पछि घर लगिएको थियो । पुनः अबस्था जटिल भए पछि अस्पताल ल्याईएकोमा उपचारका क्रममा आज बिहान निधन भएको उहाँका धर्मपुत्र टंकनाथ पौडेलले जानकारी दिनुभयो ।
वि. सं. १९८५ असोज ५ गते फूलपातीका दिन तनहुँको बन्दीपुरमा जन्मिएकी मैयादेवी, पिता वीरबहादुर श्रेष्ठ र आमा गणेशकुमारी श्रेष्ठकी दोस्रो सन्तान हुनुहुन्छ । अहिले बिहान ९ः३० वजेबाट १०ः३० वजे सम्म उहाँको पार्थिब शरिरलाई नेपाली काङ्ग्रेसको पार्टी कार्यालय कमलनगरमा राखिने छ । त्यसपछि उहाँ संरक्षक रहेको मैयादेबी कन्या क्याम्पसमा केही बेर राखेर दिउँसो १ वजे देवघाट लगिने नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले वताउनुभयो । पार्टीले शोक बक्तब्य जारी गर्दै आजका सबै कार्यक्रम स्थगन गरी शोक मनाउने जनाएको छ । उहाँको निधन प्रति गहिरो दुःख पार्टीले प्रकट गरेको छ ।
श्रेष्ठ पूर्ब सांसद हुनुहुन्थ्यो । दानबीरका रुपमा परिचित उहाँले नेपाली काङ्ग्रेसको केन्द्र, जिल्ला, वडा तह, प्रेस युनीयन लगाएतका संघ संस्थालाई कार्यालय निर्माणका लागि जमिन दान गर्नु भएको छ भने उहाँको सेवामा रहेका र निकटहरुलाई आफ्नो सम्पती दान गर्नुभएको छ । धेरै संघ संस्थामा उहाँको सहयोग रहेको छ । उहाँ अबिबाहीत हुनुहुन्थ्यो ।






