चितवनः जिल्लामा १ हजार ७७० घरधुरी कृषकले आर्काको जग्गा भाडामा लिएर कृषि कर्म गर्दै आएका छन् । यसरी खेती गर्नेमा स्वादेशी तथा बिदेशी नागरिक रहेका छन् । जिल्लामा रहेका १ लाख ८ हजार ५७० घरधुरी मध्ये सो संख्याका कृषकले अर्काको जग्गामा खेती गर्दै आएका हुन ।
जग्गाको स्वामित्व हुने कृषकको संख्या १ लाख ६ हजार ८ सय रहेको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा आफ्नो जगगा हुने कृषक मध्ये ०दशमलब १ हेक्टर भन्दा कम जमिन हुने २६ हजार २९० कृषक रहेका छन् । यस्तै ० दशमलब १ देखि ० दशमलब २ हेक्टर सम्म जमिन हुने १९ हजार ८९९ घरधुरी, ० दशमलब २ देखि ० दशमलब ५ हेक्टर भन्दा कम हुने ४४ हजार १३७ घरधुरी, ०दशमलब ५ देखि १ हेक्टर भन्दा कम जमिन भएका १२ हजार ३३७ घरधुरी रहेका छन् । १ देखि २ हेक्टर जमिन हुने ३ हजार ४४६ घरधुरी, २ देखि ३ हेक्टर जमिन हुने १७३ घरधुरी, ३ देखि ४ हेक्टर जमिन हुने २६ घरधुरी, ४ देखि ५ हेक्टर जमिन हुने १९२ घरधुरी, ५ देखि १० हेक्टर जमिन हुने २८१ घरधुरी र १० हेक्टर भन्दा माथि जमिन हुने १९ घरधुरी रहेको कार्यालयका प्रमुख युवराज पाण्डेले जानकारी दिनुभयो ।
यी कृषकहरु मध्ये जिल्लाका झण्डै ८० प्रतिशत किसानले आफ्नो उत्पादनको बिमा गरेका छैनन् । बिमा नहुँदा बेलाबखत आउने प्राकृतिक विपत्तिका कारण किसानले ठूलो क्षति व्यहोर्न बाध्य भएका छन् । चितवनका किसानले बाली र पशुमा नयाँ–नयाँ रोग र बर्खामा बाढीको प्रकोप व्यहोर्नु परेको छ ।
कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा १ लाख ८ हजार ५६७ किसान छन् । तीमध्ये ८४ हजार ८३३ किसानले निर्वाहमुखी कृषि पेशा गरेका छन् । १ हजार ४४६ किसानले मात्रै व्यावसायीक कृषि गरेको केन्द्रका प्रमुख पाण्डेले बताउनुभयो । जिल्लाका ८६ हजार २७९ जना अर्थात् ७९.५ प्रतिशत किसानले कृषि बिमा गरेकै छैनन् । कृषि बिमा गरेका २२ हजार ६८६ किसान मध्ये सबैभन्दा धेरै पशुपंक्षी उत्पादन गर्ने किसान १८.७ प्रतिशत अर्थात् २० हजार ३४५ जना रहेका छन् ।
त्यस्तै बाली उत्पादनको बिमा गर्ने ७२४ जना (०.७ प्रतिशत), मत्स्य पालनको बिमा गर्ने १६० जना (०.१ प्रतिशत) र अन्य उत्पादनको बिमा गर्ने एक हजार ४५४ जना (१.३ प्रतिशत) किसान छन् । जिल्लामा ४४ हजार ५३७ हेक्टर कृषियोग्य जमिन छ । त्यसमध्ये ३५ हजार ८६ हेक्टर जमिनमा मात्रै सिंचाई पुगेको उहाँले बताउनुभयो ।






