चितवनः चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको प्रयोगशालाले विशिष्ठ श्रेष्णी (ए क्याटागोरी) को मान्यता प्राप्त गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (नेशनल पब्लिक हेल्थ ल्याब्रोटरी) ले उक्त मान्यता प्रदान गरेको हो । राजधानी बाहिर यो मान्यता प्राप्त गर्ने सिएमसी पहिलो हो ।
चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी राजधानी बाहिर र मेडिकल कलेजहरु मध्ये आफू पहिलो रहेको दावी गरेको हो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड, २०७७ अनुसार ए ग्रेडको प्रयोगशालाका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी मान्यता पाएको बताउनुभयो ।
प्रयोगशालाले विशिष्ट श्रेणीको पूर्ण सुरक्षित भवन र त्यसभित्र आवश्यक पर्ने नमूना संकलन, प्रतीक्षालय, बैठक कक्ष, कार्यालय क्षेत्र, भण्डार, शौचालय लगायतको व्यवस्था गरेको छ । न्युनतम तीस जनामध्ये ५० प्रतिशत जनशक्ति स्नातक अथवा सो भन्दा माथिको योग्यताको हुनुपर्ने प्रावधान रहेको भए पनि सिएमसी प्रयोगशालामा तोकिएभन्दा बढी दक्ष जनशक्ति रहेको उहाँले बताउनुभयो ।
सो मेडिकल कलेजले यस अघि नै आईएसओ १५१८९ः२०१२ प्राप्त गरिसकेको छ । देवकोटाले उच्च गुणस्तरको प्रयोगशालाका लागि चितवन र छिमेकी जिल्लाबाट राजधानी र विदेश जान नपर्ने गरी व्यवस्थापन गरिएको बताउनुभयो । उहाँका अनुसार नेपालमा हुने सबै खालका परीक्षण यहाँ गर्न सम्भव छ ।
विशिष्ट श्रेणीको प्रयोगशालाको हैसियतले सिएमसी प्रयोगशालाले अन्य प्रयोगशालाहरूमा नहुने विशिष्ट जाँचहरू पनि यसअघिदेखि नै गर्दै आएको छ । अब यहाँ परीक्षण हुन नसकेर नमूना विदेश नमूना पठाउनु पर्ने अवस्थाको अन्त्य भएको छ ।
सिएमसि प्रयोगशालामा यस अघि नै हरेक परीक्षण स्टाडर्ड ओपरेटिङ सिस्टम ९क्तबलमबचम इउभचबतष्लन क्थकतझ ९क्इए० अनुसार र गुणस्तर म्यानुअल अनुसार परीक्षण गर्ने भएकोले यसलाई अझै प्रभावकारी बनाउँदै लैजाने प्रयोगशाला प्रमुख सञ्जय राय यादवले बताउनुभयो । उहाँले भन्नुभयो “प्रयोगशाला स्वाथ्य सेवाको अभिन्न अंग हो । प्रयोगशालाको नतिजाको आधारमा नै रोगको पहिचान र उपचार सहज हुन्छ ।”
अस्पतालका निर्देशक डा. दयाराम लम्सालले प्रयोगशाला उच्च गुणस्तरको नहुँदा बिरामीलाई उपचारमा कठिनाई हुने भएकाले ठूलो लगानीमा विशिष्ट किसिमको प्रयोगशाला आफैले बनाएरको बताउनुभयो । उहाँले भन्नुभयो “राजधानी बाहिर यस्तो प्रयोगशाला अन्यत्र छैन, राजधानीमा हुने सबै खाले परीक्षण हामी गर्छाै ।” अन्य अस्पताल र प्रयोगशालालाई पनि यो प्रयोगशाला उपयोगी हुने उहाँको भनाई छ ।
देशभरकै मेडिकल कलेजमा धेरै बिरामी उपचार गर्ने अस्पतालका रुपमा चितवन मेडिकल कलेजलाई चिन्ने गरिन्छ ।





