चितवनः नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेक प्रसाद गुरूङले मंसिर ४ गते हुने निर्वाचनमा ५ दलिय गठबन्धनका सबै उमेदबार निर्वाचित हुने दावी गर्नुभएको छ।

५ दलिय गठबन्धन क्षेत्र नम्बर ३ को क्षेत्रीय कार्यालय गितानगरमा उद्घाटन गर्दै उहाँले स्वार्थ समूहमा नलागि लोकतान्त्रिक–बाम गठबन्धनमा एकताबद्ध हुन नेता कार्यकर्ताहरूलाई आग्रह समेत गर्नुभयो। उहाँले कांग्रेसले परिवर्तनको नेतृत्व लिने बताउनुभयो। हिजोको परिस्थितिले नै अहिलेको गठबन्धन बनाउनु परेको मर्म बुझ्न सम्पूर्ण नेताहरूलाई उहाँको आग्रह थियोे ।

चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य सुर्य सुवेदी (पथिक)ले ईतिहासका विभिन्न कालखण्डमा राजनीतिक दलहरू एक ठाउँमा उभिएको स्मरण गराए । शिर्ष तहमा भएको समझदारीलाई कार्यान्वयन गराउनुपर्ने बताउनुभयो। माओवादी नेता पथिकले परिवर्तनकारी युवा नेतृत्वलाई निर्वाचित गराउन जनतासँग अपिल गर्नुभयो।

प्रतिनिधि सभा चितवन क्षेत्र नम्बर ३ का उमेदवार डा. भोजराज अधिकारीले चितवनकै विकास र समृद्धिका लागि गठबन्धनका उमेदवारलाई निर्वाचित गराउन आग्रह गर्नुभयो। ६ ‘स’ को एजेन्डा प्रस्तुत गर्दै उहाले यहाँका जनताको जीबिकोपार्जनमा सहज हुने निति बनाउने बताउनुभयो। स्वास्थ, शिक्षा, स्वरोजगार, सामाजिक सुरक्षा, सेवा र सडक सञ्जाल मार्फत अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गर्नुभयो । जनताको दुख सुखमा सधैं साथमा रहने उनको उद्घोष थियो । गठबन्धनका अन्य नेताहरूले जित नजिक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !