चितवनः सोल्टी समूहको चौथो होटल चितवनको पटिहानीमा सञ्चालनमा आएको छ । रिभर साइड रोयल गार्डेन रिसोर्ट प्रा.लि.ले निर्माण गरेको होटल सोल्ट्री समूहको व्यवस्थापनमा आजबाट औपचारिक रुपमा सञ्चालनमा आउने भएको हो ।
सोल्टी वेस्टइन्ड रिसोर्ट पटिहानीका नाममा सञ्चालन हुन लागेको हो । भरतपुर महानगरपालिका–२२ स्थित चितवन राष्ट्रिय निकुञ्ज नजिक राप्ती नदी तटीय क्षेत्रमा होटल रहेको छ । सोल्टी होटल समूहका उपाध्यक्ष सुदर्शन चापागाईले सोल्टीको व्यवस्थापनमा चौथो होटल औपचारिक शुभारम्भ गर्न लागेको बताउनुभयो । सोल्टीको पहिलो द सोल्टी काठमाण्डौं, दोस्रो सोल्टी वेस्ट इण्ड प्रिमियर नेपालगञ्ज, तेस्रो सोल्टी वेस्ट इण्ड इटहरी सञ्चालनमा छन् ।
चापागाईका अनुसार ५६ वर्षदेखि हस्पिटालिटी क्षेत्रमा प्राप्त अनुभवलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने योजनाका साथ व्यवस्थापन विस्तारको काम थालिएको बताउनुभयो । नेपालका अन्य पर्यटकीय स्थलमा पनि सोल्टीले आफ्नो लगानी एवं व्यवस्थापन गर्ने योजना बनाएको उहाँले जानकारी दिनुभयो ।
पाँचतारे सुविधा दिने यो रिसोर्ट नेपालका व्यवसायीको रु.एक अर्ब लगानीमा निर्माण गरिएको हो । रिसोर्ट सञ्चालन समितिका अध्यक्ष कल्याण जोशीका अनुसार होटलको व्यवस्थापन सोल्टीले गर्ने भएको हो । रिसोर्टमा दश अत्याधुनिक भिल्ला छन् । यी बाहेक दुई सुपरियर भिल्ला र ४० डिलक्स कोठा छन् ।
पाँच सय जना अट्ने एउटा, १५० जना अट्ने दुई वटा, ७५ जना अट्ने तीन वटा र २५ जना अट्ने दुईवटा हलसमेत छन् । रेष्टुरेन्टमा एक पटकमा ३०० जनाले बसेर खान सक्ने सुविधा छ । छुट्टै २५० जना अट्ने सुविधासम्पन्न बार पनि छ । यससँगै हेल्थक्लब रहने छ ।
बगैँचा र पौडी पोखरी पार्टीका लागि व्यवस्थित बनाइएको छ । पाँच बिघा जमिनमा निर्मित रिसोर्ट नजिकै विदेशी पर्यटकलाई लक्ष्य गरी बनाइएको हात्ती चढेर सामुदायिक वन घुम्ने सुविधा छ । टाढैबाट हेर्दा आकर्षक देखिने न्यूजिल्याण्डको टायल डेक्क्राको छानो होटलमा छ । धेरै जमिन भएकाले तरकारी, फलफूल आफै उत्पादन गरिने छ । यहाँ आउने पर्यटक हात्ती चढेर सामुदायिक वन घुम्ने, निकुञ्जभित्र जीप सफारी, पैदलयात्रा गर्ने, गाडीमा सफारी गर्ने, राप्ती नदीमा डुङ्गा सयर गर्ने, थारु कला संस्कृतिमा रमाउने गर्न सकिने उहाँको भनाई छ ।
यससँगै पर्यटकका लागि थारु जातिको परम्परागत परिकार चिचर, घोगी, हाँस खाएर रमाउन पाउने उहाँले बताउनुभयो । शुभारम्भका अवसरमा कोठामा २० प्रतिशत र फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुट समेत रहेको छ ।






