चितवनः मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लामा रहेका दल र तीनका प्रतिनिधि एबं सरोकारवालाहरुलाई निर्वाचन आचार संहिताको बारेमा जानकारी गराएको छ । दलबाट उम्मेदवारी दिएका तथा स्वन्त्र रुपमा उम्मेदवारी दिएका उम्मेदवारहरुले निर्वाचनको पालना गर्नुपर्ने कुराहरुको जानकारी गराईएको हो । निर्वाचनलाई निष्पक्ष, स्वच्छता, पारदर्शिता तथा भयमुक्त बातावरण वनाउन आचार संहिता बारे जानकारी दिईएको हो ।
आचार संहिता बारेमा जानकारी दिनुहुँदै मुख्य निर्बाचन अधिकृत रितेन्द्र थापाले दल र उम्मेदवारले आम सभा गर्दा सभ्य तवरले जुलुस, आमसभा, भेला गर्नुपर्ने, कसैको घरपरिवारको सम्बन्धमा बिरोध वा प्रदर्शन गर्न नपाईने, निर्वाचन चिन्ह, वा झण्डा अंकित स्टिकर, कपडा, व्याज, मास्क, लकेट वा झोला बोक्न नहुने, नीजी घर जग्गा वा सार्बजनिक स्थानमा निर्वाचन चिन्ह, दलको झण्डा टाँस्न वा राख्न नपाईने जानकारी गराउनुभयो । प्रचार प्रसार बिहान ७ वजे देखि साँझ ७ वजे सम्म मात्र गर्न पाईने, बालबालिकाको प्रयोग गर्न नपाईने, ७५ ग्रामको कागजमा ३ सय बर्ग इन्चको एउटै रंग र मुद्रकको नाम सहितको पर्चा प्रयोग गर्नु पर्ने, ३÷४ फीटको झण्डा र सोही नापको चुनाब चिन्ह राख्नु पर्ने सो अबसरमा जानकारी गराईएको थियो ।
कार्तीक १७ गते देखि मात्र जुलुस, आमसभा, कोणसभा, घरदैलो कार्यक्रम गर्नुपर्ने भोज भतेर, नगद वा जिन्सी वितरण गर्न नपाईने, निर्वाचन अधिकृतको अनुमतिले दुईवटा सवारी साधनको मात्रै प्रयोग गर्न पाईने सो अवसरमा जानकारी दिईएको थियो । सञ्चार माध्यममा प्रचार प्रसार गर्दा प्रदेश सभाको एक घण्टाको अन्तरालमा बढीमा तीन पटक र प्रतिनिधि सभाको सदस्यका लागि चार पटक एक मिनेटको प्रचार सामाग्री मात्र प्रचार गर्नु पर्ने थापाले बताउनुभयो । पत्रपत्रिकामा बढीमा ७÷७ इन्च सम्मको प्रचार सामाग्री छाप्न पाईने र बिदेशी सञ्चार माध्यमबाट प्रचार प्रसार गर्न नपाईने आचार संहितामा उल्लेख छ ।
निर्वाचनका लागि उम्मेदवारले छुट्टै खाता खोल्नु पर्ने र रु २५ हजार भन्दा बढि सहयोग लिदाँ बैंक खातामा लिनु पर्ने आचार संहितामा उल्लेख छ । सो अवसरमा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ् सहित सुरक्षा निकायका अधिकारीहरु र दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !